प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश प्रदेश सभामा पेस

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

सोमबारको बागमती प्रदेश सभा बैठकमा एक अध्यादेश पेस भएको छ। प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० प्रदेश सभामा पेस गरेकी हुन्। 

गत आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उच्च शिक्षा ऐन, २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको थियो। उक्त ऐनको दफा १३ को (५)मा रहेको प्रदेश विश्वविद्यालयको संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) को पदावधि बढाउनुपर्ने भएकाले संसोधनका लागि अध्यादेश पेस गरिएको हो।

उक्त दफाअनुसार बोर्ड अफ ट्रस्टीको पदावधि २ वर्ष रहेको र बढाएर ६ वर्ष पुर्याउने तयारी सरकारले गरेको छ। विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीमा मनोनीत भएका पदाधिकारीहरूको पहिलोपटकको पदावधि कायम गर्दा गोला प्रथाद्वारा २ जनाको पदावधि २ वर्ष, ३ जनाको पदावधि ४ वर्ष र ३ जनाको पदावधि ६ वर्ष कायम गरिने व्यवस्था छ। 

अब उक्त व्यवस्थालाई संशोधन गरी समितिमा मनोनीत भएका पदाधिकारीहरूको पहिलोपटक पदावधि कायम गर्दा गोला प्रथाद्वारा ५ जनाको पदावधि ४ वर्ष र ३ जनाको पदावधि ६ वर्ष कायम गरिनेछ।

प्रदेश सभाको अर्को बैठक मंगलबार दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको छ।

सुझावित समाचार