संसद्को अर्थ समितिका सभापति सन्तोष चालिसेले आगामी मौद्रिक नीतिलाई परिवर्तन गर्ने तयारी भइरहेको बताएका छन्। बौद्ध महांकालस्थित जनकल्याण माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै सभापति चालिसेले विगतका वर्षमा भन्दा यस वर्ष मौद्रिक नीति परिवर्तन गरी जारी हुने बताएका हुन्।
हालको नेपालको अर्थतन्त्र र विदेश पढ्न जाने विद्यार्थीहरूका सवालमा बोल्दै सभापति चालिसेले नेपालको अर्थतन्त्रलाई कमजोर बनाउने गरी पछिल्लो समय विभिन्न अभिव्यक्ति आइरहेकोले त्यो साँचो नभएको बताए।
उनले नेपालको अर्थतन्त्र बाहिर हल्ला गरिएजस्तो कमजोर नभएको दाबी गरे। ‘नेपालको अर्थतन्त्र सकियो, ध्वस्त भयो भनेको सुनिन्छ, तर त्यो साँचो होइन, आत्तिने गरी अर्थतन्त्र कमजोर भएको छैन,’ उनले भने, ‘६ महिनालाई पुग्ने त विदेशी सञ्चिति रकम हामीसँग छ, अन्य आयस्रोतका बाटा पनि छन्, आगामी मौद्रिक नीति परिवर्तनसहित ल्याउनेछौँ, जसले अर्थतन्त्रलाई उकास्न सहयोग गर्नेछ।’
उनले नेपालबाट विदेश जाने विद्यार्थी संख्या बढिरहेकोले यसलाई कम गर्नेतर्फ सरोकारवालाहरूले बढी चासो दिनुपर्ने बताए। खाडीलगायत विभिन्न देशमा रोजगारको लागि जानेहरूले नेपालमा रेमिट्यान्स भित्र्याए पनि पढ्न जाने विद्यार्थीहरूबाट राज्यलाई कुनै किसिमको फाइदा नभएको उनको भनाइ छ। त्यसकारण अब नेपालमा गरिखाने किसिमको शिक्षा आवश्यक रहेको सभापति चालिसेले औँल्याए।
‘विदेश जाने विद्यार्थीको लर्को छ, तर रोक्ने प्रयास भएको छैन। आजको शिक्षाले मुलुक अघि बढ्दैन, यो गरिखाने किसिमको छैन, त्यसैले मुलुक सुहाउँदो र गरिखाने शिक्षा चाहिन्छ।’ जनकल्याण माविले आफ्नो ७१औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा अभिभावक, विद्यार्थी, जनप्रतिनिधिलगायत सहभागी थिए।
कार्यक्रममा शिक्षक, कर्मचारी र विद्यालयलाई सहयोग गर्ने संघसंस्थाहरू सम्मान तथा पुरस्कार वितरण गरिएको थियो भने विद्यालयद्वारा प्रकाशित प्रयास पुस्तक पनि विमोचन गरिएको छ।