चितवनको भरतपुर महानगरपालिका–६, देवनगरमा ३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । २४ एमभिए क्षमताको पावर ट्रान्सफर्मरजडित विद्युत् वितरणतर्फको देवनगर सबस्टेसन निर्माण सम्पन्न गरी बिहीबार चार्ज गरिएको हो ।
भरतपुर महानगरपालिका–११ स्थित एक सय ३२ केभी बसेनी सबस्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी देवनगर सबस्टेसनसम्म पु¥याइएको छ ।
गोन्द्राङबाट देवनगर सबस्टेसनसम्म करिब साढे नौ किलोमिटर ३३ केभी प्रसारणलाइन निर्माण गरिएको छ । उक्त प्रसारणलाइन पनि चार्ज गरिएको छ । देवनगर सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ११ केभीका चारवटा फिडर रहेका छन् ।
देवनगर सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि भरतपुरको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गौरीगन्ज, प्रेमबस्ती, शिवनगर, फूलबारी, गीतानगर, पटिहानी, सीतामाई क्षेत्रका उपभोक्ताले व्यहोर्दै आएको न्यून भोल्टेजको समस्या समाधान भई आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित हुनेछ । उक्त क्षेत्रमा गार्हस्थ्य ग्राहकका अतिरिक्त ठूलो संख्यामा सिँचाइ र होटेलका ग्राहक रहेका छन् ।
नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता आयोजना (प्याकेज–९) अन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेसन निर्माण गरिएको हो । गोन्द्राङ–देवनगर ३३ केभी प्रसारणलाइन र सबस्टेसनको लागत करिब साढे नौ करोड रुपैयाँ रहेको आयोजना प्रमुख संगीता कार्कीले जानकारी दिइन् ।
आयोजना प्रमुख कार्कीले सबस्टेसन तयार भए तापनि लाइन निर्माणमा स्थानीयको अवरोध र वातावरणीय अध्ययन तथा स्वीकृतिमा समय लाग्दा सबस्टेसन सञ्चालनमा ल्याउन केही ढिलाइ भएको बताइन् । ‘कोभिड–१९ को महामारी, जग्गा अधिग्रहणमा समस्या, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (बफर जोन)मा पर्ने जंगल हुँदै प्रसारणलाइन लैजानुगर्ने र त्यसका लागि संक्षिप्त वातावरणीय प्रभाव अध्ययन तथा स्वीकृतिमा समय लाग्दा, स्थानीयको अवरोधलगायत कारणले निर्माण केही ढिलाइ भयो,’ उनले बताइन् ।
संक्षित वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गरी लाइन निर्माण गत फागुनबाट निर्माण सुरु गरिएको थियो । तर, लाइन निर्माणमा केही स्थानीयबाट अवरोध सुरु भएपछि निर्माण रोकिएको थियो ।