नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स)लाई प्राप्ति गर्ने भएको छ । दुवै संस्थाबीच प्राप्ति गर्नेबारे सम्झौता भएको बताइएको छ । बिहीबार बसेको संयुक्त मर्जर प्राप्ति समितिको बैठकमा एनसिएचएल र नेप्स तर्फका संयोजक महेश शर्मा ढकाल र नेप्सका सञ्जीव श्रेष्ठबीच सम्झौतापत्र आदान–प्रदान गरिएको हो ।
सम्झौतापश्चात् दुवै संस्थाले छुट्टाछुट्टै विशेष साधारणसभामार्फत आफ्ना सेयरधनीको समर्थन लिई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि कम्पनी रजिस्ट्रार कार्यालयको आवश्यक प्रक्रिया सम्पन्न गरी एकीकृत कार्य गर्नेछ ।
नेप्सले हालसम्म विभिन्न कार्ड स्किमका लागि कार्ड स्विचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थालाई सेवा दिँदै आएको छ भने एनसिएचएलले कार्डबाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्लेटफर्ममार्फत आफ्ना सदस्यलाई सेवा दिँदै आएको बताइएको छ ।
विद्युतीय भुक्तानी पूर्वाधारको विकास तथा यसको प्रयोग वृद्धि गरी डिजिटल नेपालले परिकल्पना गरेको उक्त क्षेत्रलाई आधुनिकीकरण तथा अन्तरआबद्धता कायम गर्न र यससम्बन्धी दूरगामी परियोजनाहरूको सफल कार्यान्वयनका लागि राष्ट्रिय भुक्तानी स्विचलगायतका थप पूर्वाधार विस्तार गर्न यस साझेदारीले सहयोग हुने अपेक्षा गरिएको छ ।