लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री महरालाई शपथ गराएका थिए ।
लगत्तै, मुख्यमन्त्री महराले सानो मन्त्रिमण्डल पनि गठन गरेका छन् । एमालेका नेता चेतनारायण आचार्य र माओवादी केन्द्रका दीपेन्द्रबहादुर पुन र जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरलाई विनाविभागीयमन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूलाई सोही समारोहमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले २२ चैतमा प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गरेपछि एमालेसहित पाँच दल र एक स्वतन्त्र प्रदेश सभा सदस्यसहित ४८ जनाको समर्थनमा महरा मुख्यमन्त्री नियुक्त भएका थिए ।
नवनियुक्त मुख्यमन्त्री महरा लुम्बनीको पाँचाैँ मुख्यमन्त्री हुन् । अझै लुम्बिनीमा भागबन्डा भने टुंगिएको छैन । लुम्बिनीमा माओवादीले मुख्यमन्त्रीका रूपमा दोस्रोपटक नेतृत्व गर्ने अवसर पाएका छन् । यसअघि पनि रोल्पाकै कुलप्रसाद केसी मुख्यमन्त्री भएका थिए ।