हाम्रो नेपाली पार्टीले प्रदेशमा मन्त्री बनेका बज्राचार्यलाई कारबाही गर्ने

शुक्रबार, १६ चैत, २०८०
डिजिटल संस्करण

हाम्रो नेपाली पार्टीले बिहीबार मात्रै बागमती प्रदेश सरकारमा सहभागी भएका प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने जनाएको छ । शुक्रबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष अनन्तराज घिमिरेले पार्टी निर्णयविरुद्ध गएका बज्राचार्यलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

बज्राचार्य बिहीबार मात्रै प्रदेशको संकृति, पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त भएका थिए । उनी सत्तासाझेदार दलहरूसँग पाँचबुँदे सहमति गर्दै सरकारमा सहभागी भएका थिए । बज्राचार्यलाई अपहरण शैलीमा कब्जामा राखेर सत्तासाझेदार दलहरू एमाले र माओवादीले राजनीतिक बेइमानी गरेको अध्यक्ष घिमिरेले आरोप पनि लगाए ।

उनले आफ्नो प्रदेश सभा सभासद्लाई सत्तारूढ दलले अपहरण गरेर मन्त्री बनाएको भन्दै यसमा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओली दोषी रहेको दाबी गरे ।  एउटा पार्टीको प्रदेश सांसदलाई अपहरण शैलीमा कब्जा गरेर मन्त्री बनाइनु लज्जास्पद विषय भएको दाबी गर्दै अध्यक्ष घिमिरेले प्रचण्ड र ओलीले युवाहरूलाई  विकृत राजनीतिक संस्कार सिकाएको आरोप लगाए ।

‘हामी सरकारमा रहेका दलहरूसँग छलफलमै थियौँ । तर, हाम्रो पार्टीको सांसदलाई अपहरण शैलीमा पार्टीको सम्पर्कमा आउनै नदिएर उहाँहरूले राजनीतिक बेइमानी गर्नुभएको छ । हामी प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको शैलीको निन्दा गर्छौँ,’ अध्यक्ष घिमिरेले भने ।

उनले पार्टीको ३ र ४ चैतमा भएको केन्द्रीय समितिको बैठकले तत्काल नयाँ गठबन्धनलाई समर्थन निर्णय गरेको भए पनि नेता बज्राचार्य पार्टी निर्णयविपरीत गएकाले कारबाही गर्ने चेतावनी दिए । अध्यक्ष घिमिरेले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई दिएको समर्थन फिर्ता लिएको सन्दर्भमा समर्थन फिर्ता यथावत् रहेको स्पष्ट पारे ।

सुझावित समाचार