एन्फामाथिको कारबाहीबारे मन्त्रालयले राखेपसँग माग्यो जानकारी

बुधबार, १४ चैत, २०८०
डिजिटल संस्करण

युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि भएको कारबाहीको सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग जानकारी माग गरेको छ । मन्त्रालयले मंगलबार राखेपलाई पत्र लेख्दै स्वीकृति नलिएर बहराइनमा विश्वकप छनोटमा पदाधिकारी पठाउने एन्फालाई कानुनअनुसार कारबाही गरेर जानकारी गराउन निर्देशन दिएको थियो । 

तर, अहिलेसम्म जानकारी प्राप्त नभएको भन्दै राखेपसँग मन्त्रालयले जवाफ मागेको हो । मन्त्रालयले एन्फामाथि गरिएको कारबाहीको जानकारी अविलम्ब गराउन राखेपलाई पत्राचार गरेको छ । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनमा भइरहेको खेलमा नेपाली टोलीसँगै अतिरिक्त अनावश्यक व्यक्ति जाने भएपछि गत साता मन्त्रालयले ध्यानाकर्षण गराएको थियो । राखेपको स्वीकृतिविना एन्फाका अतिरिक्त ८ व्यक्ति बहराइन भ्रमणमा पुगेका छन् । 

६ चैतमा बहराइन जाने टोलीमा एन्फा कार्यसमिति सदस्यद्वय लामा र विष्ट, उदयपुर जिल्ला फुटबल संघका अध्यक्ष रञ्जन कार्की, झापाका शेरबहादुर बस्नेत र श्री भगवती क्लबका राजकाजी श्रेष्ठ, जिल्ला सदस्य डोलेशकुमार केसी, महेशचन्द्र महत र भरतबहादुर क्षेत्री राखेपको स्वीकृतिविना गएका थिए । 

See More On

सुझावित समाचार