उदयपुरमा होली मनाएर पौडी खेल्न सुनकोशी नदी गएका तीन बालबालिका बेपत्ता भएका छन्। उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका तीन बालबालिका आइतबार बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाका अनुसार साउने बजारका बालबालिका सुनकोशी नदीको धाप्लाङघाटमा पौडी खेल्दा डुबेर बेपत्ता भएका हुन्।
उनका अनुसार साउने बजारका १२ वर्षीय रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर बेपत्ता भएका हुन्। उनले भने, ‘बेपत्ता भएको जानकारी आउनासाथ प्रहरी परिचालन गरेर खोजिरहेका छौँ, अहिलेसम्म भेटिएका छैनन्।’
बालबालिकाहरूको समूह आइतबार दिनभर होली खेलेर धाप्लाङघाट पुगेका थिए। कोशीमा पौडिन पसेकामध्ये चारजनाको स्थानीयले उद्धार गरेको र तीनजना भने बेपत्ता भएको थापाको भनाइ छ।
बेपत्ता भएका तीन बालबालिकासँगै पौडी खेल्न गएका चार बालबालिका भने घर फर्किसकेको थापाले बताए।