नेपालका लागि निसान गाडीको अधिकारिक विक्रेता पायोनियर मोटो कर्पले निसान म्याग्नाइटको स्मार्ट इडिसन संस्करण सार्वजनिक गरेको छ । नेपालमा सन् २०२१ मा सार्वजनिक भएको यो गाडी नयाँ स्मार्ट–नवीनतापूर्ण आरामदायी सुविधासहित आएको हो ।
निसान म्याग्नाइट स्मार्ट इडिसन खरिदमा कम्पनीले विशेष छुटको अफर पनि ल्याएको जनाएको छ । जसअनुसार मार्च महिनाभरि खरिद गर्दा विशेष छुटका साथ आकर्षक मूल्यको लाभ लिन सकिने कम्पनीको भनाइ छ । यस गाडीको खरिदमा ग्राहकले विभिन्न लाभ समावेश गरी तीन लाख १६ हजार रुपैयाँभन्दा बढी फाइदा पाउने कम्पनीको दाबी छ । यो गाडीमा आठ इन्च टच स्क्रिन नेभिगेसन डिस्प्ले, फग लाइट, स्मार्ट एलइडी डिआरएल, एलोय ह्विल, मस्कुलर लाइन र डायनामिक स्टाइल डिजाइनजस्ता आकर्षक विशेषता रहेको कम्पनीले जनाएको छ ।
निसान मोटर साउथ एसिया बिजनेस युनिटका प्रमुख रघुनाथ नैरलेले भने, ‘यो गाडीले निसानको निरन्तर इनोभेसन (नवप्रवर्तन)द्वारा ग्राहकलाई समृद्ध ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्यलाई झल्काउँछ ।’ पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाले यो गाडी स्मार्ट, सरल र आधुनिक अनुभव खोज्ने नेपाली उपभोक्ताका लागि उपयुक्त रहेको बताए ।