गण्डकी प्रदेश सरकारले ओलम्पिक खेलाडीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिन सुरु गरेको छ । प्रदेश सरकारको चालू आर्थिक वर्ष ०८०/८१ को बजेटमा नेपालबाट प्रतिनिधित्व गर्दै विभिन्न ओलम्पिक खेलमा भाग लिएका गण्डकीका खेलाडीलाई सम्मान गर्दै प्रोत्साहनस्वरूप मासिक भत्ता उपलब्ध गराउने गराएको हो ।
चालू वर्षदेखि लागू गरिएको व्यवस्थाअनुसार बुधबार नौजना ओलम्पियनलाई मासिक भत्ता प्रदान गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरूलाई चालू एक वर्षको मासिक भत्ता बैंक खातामा जाने गरी हस्तान्तरणसँगै सम्मान गरेका छन् ।
ओलम्पियनमा बाग्लुङकी भगवती खत्री, कास्कीकी मनीषा अधिकारी, गोरखाका टीकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहरा, तनहुँका सीताराम शाही, राजेन्द्रबहादुर भण्डारी, नारायणबहादुर गुरुङ र नवलपुरका तिलकराम थारू रहेका छन् ।