आफ्ना सांसदलाई माओवादीको अभिलेखबाट हटाइदिन बाबुरामको पत्र

बुधबार, २३ फागुन, २०८०
डिजिटल संस्करण

 पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले आफ्ना दुई सांसदलाई माओवादी पार्टीको अभिलेखबाट हटाइदिन निर्वाचन आयोग र संसद् सचिवालयलाई पत्र पठाएको छ । नेसपाले माओवादीको चुनाव चिह्न लिएर निर्वाचित जनप्रतिनिधिलाई आफ्नै दलको अभिलेखमा राखिदिन अनुरोध गर्दै आयोग र संसद् सचिवालयलाई पत्राचार गरेको हो ।

माओवादीको चुनाव चिह्न हँसिया हथौडा लिएर नेसपाका महिन्द्र राय यादव सर्लाही– ३ बाट निर्वाचित सांसद हुन् भने उमरावती देवी बारा– २ बाट समानुपातिक सांसद हुन् । माओवादी र नेसपाबीच ४ मंसिर ०७९ को निर्वाचनमा तालमेल भई हँसिया हथौडा चुनाव चिह्नमा चुनाव लड्ने सहमति भएको थियो । सहमतिअनुसार हँसिया हथौडा चिह्नबाट चुनाव लडेर प्रतिनिधिसभामा यादव र देवी निर्वाचित भए भने प्रदेश सभातर्फ बागमतीको सिन्धुली २ (२) बाट गंगानारायण श्रेष्ठ र गोरखा २ (२) बाट फणीन्द्र देवकोटा निर्वाचित भएका थिए । 

आयोगका कानुनसचिव यज्ञ भट्टराईले निर्वाचित सांसद समाजवादीको कायम गरिपाऊँ भन्ने खालको निवेदन केही समयअघि आएको र निर्णय भइनसकेको बताए । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले पनि अभिलेखीकरण सम्बन्धमा नेसपाको पत्र प्राप्त भएको बताए । ‘आफ्नो सदस्यलाई उक्त पार्टीबाट प्रतिनिधित्व गरेको व्यहोरा अभिलेखीकरण गरिदिने भनेर पत्र आएको छ । निर्णय केही भएको छैन, निर्णय प्रक्रियामा छ,’ उनले भने । हँसिया हथौडा चुनाव चिह्नबाट निर्वाचित नेसपाका दुईसहित प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२ सांसद छन् । 

See More On

सुझावित समाचार