सत्तासमीकरणमा आएको फेरबदलसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीका तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीलाई मंगलबार मन्त्री पदबाट बर्खास्त गरेका छन्।
गण्डकीमा मुख्यमन्त्रीसँगै कांग्रेसका पाँच र माओवादीका दुई गरी सात सदस्य मन्त्रिपरिषद् रहेको थियो। माओवादीका दुई मन्त्रीले सम्हालेका दुई मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पाण्डेले आफैँसँग राखेका छन्।
मुख्यमन्त्रीले माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेसँगै गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मंगलबार मन्त्रिपरिषद्को गठन गरी कार्यविभाजन गरेका हुन्। बर्खास्त भएका माओवादीका मन्त्रीहरूमा सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडा र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली छन्।
१४ वैशाख ०८० मा कांग्रेसका २९, माओवादीका सात र तत्कालीन स्वतन्त्र हाल एकीकृत समाजवादीका एक गरी ३७ जनाको समर्थनका संविधानको धारा १६८ को (२) अनुसार पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
मुख्यमन्त्री पाण्डेले १५ गते सिंखडालाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए। त्यसपछि २९ वैशाखमा मन्त्रिपरिषद्लाई पूर्णता दिँदै माओवादीका सिंखडालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसँगै जुग्जालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त गरेका थिए।

नयाँ सरकार गठनका लागि सहज छैन गण्डकीमा
६० सदस्य गण्डकी प्रदेश सभामा बहुमतको सरकार गठनका लागि ३१ सदस्यको समर्थन आवश्यक रहन्छ। हाल गण्डकीमा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादीका सभामुखसहित आठ, राप्रपाका दुई र नेकपा एकीकृत समाजवादीका एक सदस्य छन्।
सोमबार बनेको नयाँ गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बाहिर रखिाएको छ। नयाँ गठबन्धनको नेतृत्वमा सरकार गठन गर्ने हो भने राप्रपाको समर्थनविना असम्भव छ। सरकार गठनका लागि सभामुखले मत दिन नपाउने हुँदा एमालेका २२ र माओवादीका सात गरी २९ जनाले मात्र मत दिन पाउँछन्। बहुमतको सरकार गठनका लागि थप दुई मत आवश्यक पर्छ जुन मत राप्रपासँग छ।
राप्रपालाई साथ नलिने भए नयाँ गठबन्धनले प्रदेश सभाको ठूलो दल कांग्रेससँग मिल्नुपर्ने हुन्छ, जुन असम्भव छ।
नयाँ गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठनका लागि निर्णायक मत रहेको राप्रपाले भने सरकार फेरबदलको विषयमा गहिरिएर, चासो लिएर केही पनि नसोचेको बताएको छ। राप्रपा दलका नेता पञ्चराम गुरुङले पार्टीले अहिले नै सरकारमा जाने कुरालाई प्राथमिकता नदिएको बताए।
हालको समस्या भनेको सत्ता फेरबदल नभई देशको अवस्था नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन्। जसका लागि पार्टीले आन्दोलनको घोषणा गरिसकेको छ। तैपनि सरकारका विषयमा केन्द्रले जे निर्णय र निर्देशन दिन्छ सोहीअनुसार आफूहरू अघि बढ्ने भनाइ उनको छ।