‘अर्थतन्त्र राजनीतिक दलको साझा एजेन्डा नबने दुर्घटना’

शुक्रबार, १८ फागुन, २०८०
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र जटिल मोडमा रहेको बताउँदै सबै राजनीतिक दलहरूको साझा एजेन्डा बनेर सुधार नभए दुर्घटना हुन सक्नेतर्फ सचेत गराएका छन् । राज्य व्यवस्था समितिमा बिहीबार भएको छलफलमा अध्यक्ष ढकालले सरकार र राजनीतिक दलहरू संवेदनशील नहुने हो भने स्वदेशी र विदेशी लगानी हुन नसक्ने अवस्था रहेको बताए । 

‘सबै मिलेर अर्थतन्त्रको जटिलता समाधानमा पहल नहुने हो भने निजी क्षेत्र लगानी बढाउने नभई कसरी व्यवसायबाट बाहिरिने भन्ने बाटो खोज्ने अवस्था आउनेछ,’ अध्यक्ष ढकालले भने । महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले सार्वजनिक गरेको अध्ययनअनुसार अर्थतन्त्रमा ८१ प्रतिशत रोजगारीमा ८७ प्रतिशत योगदान निजी क्षेत्रको छ ।

सरकारभित्र पनि अन्तरनिकाय समन्वय नहुँदा समस्या बल्झिँदै गएको उनको भनाइ थियो । निजी क्षेत्रले काम गर्न नसक्दा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारको घाटा करिब ५० अर्ब रुपैयाँ पुगेको पनि ढकालले स्मरण गराए । यसैगरी, आगामी लगानी सम्मेलनलाई लक्षित गरी तयार पारिएको कानुन सुधारसम्बन्धी व्यवस्था पारित गर्नुपर्नेमा पनि अध्यक्ष ढकालको जोड थियो । महासंघले करिब एक दर्जन कानुन सुधार आवश्यक रहेको भन्दै सुझाव सरकारलाई बुझाएको छ । 

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नीति–नियम बनाउँदा सरकारले निजी क्षेत्रलाई साक्षीका रूपमा मात्र लिने गरेको बताए । उनले निजी क्षेत्रले दिएका सुझाव, नीति–नियमनको मस्यौदा तयार पार्दा सरकारले ध्यान दिएर समावेश गरे देशको अर्थतन्त्रमा अझै सुधार आउने बताए । 
 

सुझावित समाचार