नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसोमा बन्द नहुने

आइतबार, १३ फागुन, २०८०
डिजिटल संस्करण

तुइन खोलामा पुल बनाउन पहाड काट्न सुरु भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिए । ‘अब पहाड काट्न एक–दुई मिटरजति मात्र बाँकी होला । त्यसैले गाडी बन्द गरिरहनुपर्ने अवस्था रहेन,’ उनले भने ।

तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र यस वर्ष पुसदेखि दिनहुँ सडक बन्द हुने गरेको थियो । साठी मिटर अग्लो पहाड काट्न गत वर्ष गत पुस ५ देखि फागुन २० गतेसम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो । गत वर्ष जम्मा २५ मिटर मात्रै पहाड काटेर काम रोकिएको थियो । यस वर्ष गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा बाटो बन्द गरेर पहाड काट्न सुरु गरिएको थियो ।

तुइन खोलामा ६० मिटरको लम्बाइको पुल बन्ने आयोजनाका इन्जिनियर विजय दराईले जानकारी दिए । यस सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो । अहिलेसम्म आठ पुल निर्माण भएर गाडी गुडिरहेका छन् । ६ पुल गाडी गुड्ने चरणमा आइपुगेको उनले जानकारी दिए । कडा चट्टानका कारण तुइन खोलाको पुल निर्माणमा समस्या आएको उनले बताए ।

०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत  एक अर्ब २८ करोड छ । सडक विस्तार गरेसँगै यो सडकखण्ड नौदेखि ११ मिटर फराकिलो बनेको छ । तराईलाई राजधानीसँग जोड्ने यो प्रमुख सडकका रूपमा रहेको छ । यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्दछन् ।     

 

सुझावित समाचार