शुक्लाफाँटा नगरपालिका– ११ अमरपुरस्थति आशा ऐरको कुखुरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले रु. चार लाखभन्दा बढी मूल्यका कुखुरा मारेर नोक्सानी पुर्याएका छन्।
आज बिहान कुखुरा फार्मको तारजाली तोडेर भित्र पसेको भुस्याहा कुकुरको हुलले अन्डा दिने लेयर्स जातका ६ सय कुखुरा मारिदिएको हो। सय बढी कुखुरा घाइते छन्।
‘बैंकबाट रु. १२ लाखभन्दा बढी कर्जा निकालेर एक हजार दुई सय अन्डा दिने कुखुरा पालेका थियौँ,’ फार्म सञ्चालक आशाले भनिन्, ‘दैनिक कुखुराले चार पेटीजति अन्डा दिँदै आएका थिए, भुस्याहा कुकुर फार्मभित्र छिरेर कुखुरा मारिदिएपछि निकै ठूलो नोक्सानी व्यहोर्न बाध्य भएका छौँ।’
फार्ममा पाँच सयजति कुखुरा मात्रै बाँकी रहेको उनले बताइन्। फार्मभित्र कुकुरले कुखुरा मारेर खान थालेपछि कुखुराको आवाज सुनी कुकुरलाई भगाउन सकिएको उनले बताइन्। वडाध्यक्षको रोहवरमा प्रहरीले मुचुल्का तयार गरेको उनको भनाइ छ।
नगरपालिका क्षेत्रमा भुस्याहा कुकुर नियन्त्रण नहुँदा किसानले निकै सास्ती खेप्नुपरेको स्थानीय जयबहादुर ऐरले बताए। ‘पोल्ट्री फार्मभित्रै छिरेर आज ठूलो संख्यामा कुखुरा मारिदिए, बाटो हिँड्ने व्यक्तिाई पनि झम्टिने गरेको छ,’ उनले भने, ‘धेरै व्यक्तिलाई टोक्दा रेबिजको खोप लगाइरहेका छन्।’
नगरपालिकाले भुस्याहा कुकुर नियन्त्रण गरिदिनुपर्ने उनको भनाइ छ। कुखुरा फार्म सञ्चालकले सम्बन्धित निकायलाई क्षतिपूर्तिको व्यवस्था गरिदिनका लागि पनि आग्रह गरेका छन्।