पाकिस्तानको निर्वाचनमा इमरान शतकनजिक

आइतबार, २८ माघ, २०८०
डिजिटल संस्करण
पाकिस्तानको निर्वाचनमा इमरान शतकनजिक

मतगणनामा धाँधली भएको भन्दै पेसावर सहरको मतदानस्थलबाहिर विरोध प्रदर्शन गर्दै पिटिआई समर्थक

केन्द्रीय संसद्को २६५ सिटका लागि भएको निर्वाचनमा शनिबार रातिसम्म  २५४ को नतिजा आउँदा इमरान खान समर्थक ९३ उम्मेदवार विजयी

पाकिस्तानमा बिहीबार सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले बहुमत हासिल गर्न सकेनन् । हाल जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको दल ‘पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई)’ समर्थित ९२ स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् । यो ११ सिटको अन्तिम नतिजा आउन बाँकी हुँदाको परिणाम हो । चुनावअघि निर्वाचन आयोगले दलको मान्यता खोसेपछि यस दलका नेताले स्वतन्त्र उम्मेदवारका रूपमा लड्नुपरेको थियो । जितसँगै पिटिआई समर्थित स्वतन्त्र सांसदको समूह पाकिस्तानको केन्द्रीय संसद् (राष्ट्रिय सभा) मा सबैभन्दा ठूलो एकल समूह बनेको छ । पिटिआईविरुद्ध देशको शक्तिशाली सेनाले तीव्र कानुनी अभियान चलाउँदासमेत उसले राम्रो प्रदर्शन गरेको छ । ‘पिटिआईले सामाजिक सञ्जाललाई उसको प्रभाव घट्न नदिई कायम राख्न प्रयोग गर्न सकेको देखियो,’ न्युयोर्कस्थित एसिया साउथ पोलिसी इन्स्टिच्युटका साउथ एसिया इनिसियटिभका निर्देशक फरवा आरमेरले भने । 

पिटिआईका कतिपय नेताले गिरफ्तारीबाट जोगिँदै उम्मेदवारी दिएका थिए । त्यस्तो स्थितिमा समेत तिनले चुनाव लड्दा पनि कुनै पनि प्रतिद्वन्द्वी दलभन्दा बढी सिट जिते । पिटिआईले गत वर्ष मे महिनाअघि आह्वान गरेको प्रदर्शनमा भिडले सेनाको मुख्यालयमा आक्रमण गरेको मुद्दामा सो दलका अधिकांश नेताले आतंकवादविरोधी मुद्दा खेपिरहेका छन् । उनीहरूविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । भ्रष्टाचारसम्बन्धी मुद्दामा इमरान खानलाई सेनाले पक्राउ गरेपछि उक्त प्रदर्शन र हिंसात्मक घटना घटेको थियो । त्यसपछि खान र उनका सहकर्मीलाई साहबाज सरिफको तत्कालीन प्रशासनविरुद्ध विद्रोह गर्ने प्रयास गरेको र सेनाको उच्च कमान्डविरुद्ध विद्रोह गर्न खोजेको आरोप लाग्यो । यी सब अवरोधका बाबजुद पिटिआईले उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको आफ्नो आधार क्षेत्रका लगभग सबै केन्द्रीय संसद्को सिट जितेको छ । सो परिणाम अपेक्षित नै थियो । अनपेक्षित परिणाम पन्जाब प्रान्तमा देखिएको छ । राष्ट्रिय सभाको कुल २६६ सिटमध्ये लगभग आधा सिट रहेको यस प्रान्त लामो समयदेखि सरिफको आधार रहेको छ । तर, यसपटकको चुनावमा पन्जाब प्रान्तका झन्डै आधा सिट पिटिआईले समर्थन गरेका उम्मेदवारले जितेका छन् वा अगाडि छन् । 

यसपटकको निर्वाचनमा कुल मतदातामध्ये ४२ प्रतिशतले मात्र आफ्नो मत जायर गरेको निर्वाचन आयोगले जनाएको छ, जुन २००८, २०१३ र २०१८ को भन्दा धेरै कम थियो । यसमा चुनावको पूर्वसन्ध्यामा भएका हिंसात्मक घटनामा दर्जनौँको मृत्यु, पिटिआईका नेताविरुद्ध भएको कानुनी दमन र दबिएको चुनावी प्रचारको भूमिका भएको विश्लेषण भइरहेको छ । चुनावमा दोस्रो धेरै सिट ‘पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन)’ले ल्याएको छ । ७१ सिट जितेको पिएमएल–एनका नेता नवाज सरिफलाई यसपटक सेनाले प्रधानमन्त्रीको रूपमा हेर्न चाहेको पाकिस्तानी राजनीतिक वृत्तमा व्यापक चर्चा चलेको छ । पिटिआईका उम्मेदवारहरू स्वतन्त्र सांसद भएकाले यस निर्वाचनमा आफ्नो दल सबैभन्दा ठूलो भएको नवाजले दाबी गरिसकेका छन् । उनको नेतृत्वमा सरकार बन्नका लागि ५३ सिट जितेर तेस्रो दल बनेको पूर्वराष्ट्रपति आसिफ अली जरदारीको पार्टी पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) र अन्य साना दलले समर्थन दिनुपर्नेछ । तथापि त्यसरी बन्ने गठबन्धन सरकार चुनावअघिकै जस्तो कमजोर हुने विश्लेषण छ । आगामी सरकारले देशले जुधिरहेको आर्थिक संकटबीच अन्तर्राष्ट्रिय मुद्राकोष र चीनसँग आर्थिक सहायता प्याकेजको वार्ता गर्नुपर्नेछ । 

तीनपटक प्रधानमन्त्री नवाज सरिफले उनको दल पिएमएल–एन र जरदारीको पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) को गठबन्धन बनाउन सफल भए पनि त्यसलाई लामो समय टिकाउन कठिन हुनेछ । विशेषतः सरिफ र जरदारीबीचको लामो समयदेखिको प्रतिस्पर्धाले त्यो गठबन्धन कुनै वेला पनि टुट्न सक्छ । दुवै नेताको सेनाको नेतृत्वको संस्थापनसँग जटिल सम्बन्ध रहेको इतिहास छ । यही सम्बन्धमा उतारचढाव आउँदा विगतमा पिएमएल–एन र पिपिपीको नेतृत्व सरकार विभिन्न समय ढलेका छन् । त्यसअतिरिक्त सरिफ र जरदारी केही समय जेलसमेत परे । यसका लागि सेनाले कहिलेकाहीँ एकलाई अर्कोविरुद्ध प्रयोग गरेको थियो । 

‘अर्थतन्त्रलाई अहिलेको गम्भीर संकटबाट बाहिर निकाल्न आवश्यक कठोर निर्णय लिने सरकारको आवश्यकता पर्छ । अहिलेको कमजोर गठबन्धनबाट त्यस्तो निर्णय लिन कठिन भएकाले राजनीतिक स्थायित्व सम्भव हुँदैन,’ बेलायत, अमेरिका र संयुक्त राष्ट्रका लागि पूर्वपाकिस्तानी राजदूत रहेका मलिहा लोधीले भनिन् । पाकिस्तान सन् २०२३ को पहिलो हिस्सामा झन्डै श्रीलंकाले भोगेको स्थितिमा पुगेको थियो । अन्तिम समयमा भुक्तानी सन्तुलन मिलाउन आइएमएफसँगको लामो र कठिन वार्ता सफल भएपछि ऊ त्यो स्थितिबाट बचेको थियो । आइएमएफबाट पैसा निकासी नभएसम्म उसको घनिष्ट मित्र देश चीनले (जो उसको सबैभन्दा ठूलो ऋणदाता मुलुक हो) सात अर्ब डलरको सस्तो ब्याजको ऋण पुनः वित्तीयकरण दिलाएको थियो । चुनावअघि टेलिभिजन अन्तर्वार्तामा पिएमएल–एनका उपनेता (नवाज सरिफका भाइ) सहबाज सरिफले उनको दलको नेतृत्वमा सरकार बने सबैभन्दा उच्च प्राथमिकतामा आइएमएफसँग नयाँ आर्थिक सहायताका लागि नयाँ वार्ता सुरु हुने बताएका थिए ।

सुझावित समाचार