फ्रान्सेली शीर्ष डिभिजन क्लब अन आभान्ट ग्वेङगाम्पमा अनुबन्ध हुने सावित्रा पहिलो नेपाली खेलाडी
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने भएकी छिन् । फ्रान्सेली शीर्ष डिभिजन क्लब अन आभान्ट ग्वेङगाम्पले उनलाई एक वर्षको सम्झौता गरेको छ । ‘क्लबसँग सम्झौता भयो । देशको प्रतिनिधित्व गरेको फ्रेन्च लिग खेल्दै छु । धेरै मिहिनेत गर्नुपर्छ,’ सावित्राले फ्रान्सबाट नयाँ पत्रिकासँग भनिन् । क्लबले पनि एक भिडियो सन्देशसहित सावित्रालाई अनुबन्ध गरेको पुष्टि गरेको छ । क्लबका अनुसार उनको सम्झौता यो सिजनको जुनसम्म र त्यसपछिको पूरा सिजनसम्म रहनेछ ।
सावित्रा र क्लबबीचको सम्झौता रकम खुलाएको छैन । सावित्राले क्लबमा २८ नम्बर जर्सी लगाउनेछिन् । लमजुङकी सावित्रा यसै साता क्लबसँग सम्झौता गर्न फ्रान्स पुगेकी थिइन् । पहिलो दिनको प्रशिक्षणमा समेत उनी सहभागी भएकी छिन् । ‘पहिलो दिन राम्रो भयो । आफ्नो तर्फबाट सक्दो राम्रो प्रयास गर्छु,’ उनले भनिन् । सावित्रा फ्रान्सको लिग खेल्ने पहिलो नेपाली फुटबलर हुन् । दक्षिण एसियाको प्रतिनिधित्व गर्दै फ्रान्सको लिग खेल्ने पहिलो महिला खेलाडीसमेत बनेकी छिन् । सावित्रा अनुबन्ध भएको ग्वेङगाम्प १२ खेलमा आठ अंक जोड्दै तालिकाको १०औँ स्थानमा छ ।
क्लबलाई रेलिगेसनबाट माथि उठाउन सावित्रालाई चुनौती हुन सक्छ । लिगमा अब अन आभान्ट ग्वेङगाम्पले १० खेल खेल्न बाँकी छ । सावित्रा गत वर्ष मात्र युरोपको शीर्ष डिभिजन लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन् । एक वर्षको अन्तरालमा उनको दोस्रो सफलता हो । उनले इजरायली क्लब हापोयल रानानाबाट घरेलु लिग खेलेकी थिइन् । इजरायलले युरोपेली फुटबलको प्रतिनिधित्व गर्दै फुटबल खेल्ने गरेको छ । सावित्राले अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक ४३ गोल गरिसकेकी छिन् ।
भारत हुँदै खुलेको ढोका
सावित्राको विदेशी लिग उडान भारतीय महिला लिग हुँदै सुरु भएको हो । भारतीय लिगमा उच्च प्रदर्शनसँगै उनको युरोपमा खेल्ने ढोका खुलेको हो । उनले भारतीय लिगमा गोकुलम केरेलालाई दुई तथा सेथु एफसीलाई एकपटक च्याम्पियन बनाइन् । सावित्राले सन् २०१८/१९ मा पहिलोपटक सेथु एफसीमा अनुबन्ध भएकी थिइन् । अहिले गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले कप्तानी गरिरहेको सेथुबाट तत्कालीन समय सावित्रासहित अनिता बस्नेतले उपाधि नै जितेका थिए ।
सेथुबाट उपाधि जितेपछि सावित्रा अर्काे २०१९/२० को सिजन गोकुलम केरेलामा आबद्ध भइन् । त्यसपछि पनि गोकुलम च्याम्पियन भयो । सन् २०२१/२० को सिजनमा घाइते हुँदा उनले लिग गुमाइन् । सन् २०२२/२३ को सिजनमा पुनः गोकुलमलाई उपाधि जिताउन उनी सफल भइन् । यसपछि उनी इजरायल हुँदै फ्रान्स पुगेकी हुन् । भारतमा तीन सिजन खेल्दा उनले सर्वाधिक ५९ गोल गरिन् । सावित्राले भारतीय उत्कृष्ट स्ट्राइकर बाला देवीकोले चार सिजनमा गरेको ४८ गोललाई उछिनेकी थिइन् ।