सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा सञ्चालन हुने विकास निर्माणका आयोजनाको अनुगमन र मूल्यांकन गर्ने कानुनी आधार आवश्यक रहेको बताएकी छिन्।
अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ मा राज्य व्यवस्था तथा सुशासन समितिमा भएको सैद्धान्तिक छलफलमा उनले प्रधानमन्त्री, राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालयले अनुगमन तथा मूल्यांकनको कानुनी आधार प्रदान गर्न विधेयक ल्याइएको स्पष्ट पारिन्।
राष्ट्रिय सभामा उत्पत्ति भई मातहतको विषयगत समितिले आवश्यक संशोधन गरी सभामा पेस गरिएकामा त्यहाँबाट पारित भई विधेयक प्रतिवेदनसहित प्रतिनिधिसभामा पठाइएको थियो।
प्रतिनिधिसभाले विधेयकलाई थप समृद्ध तुल्याउन राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको हो। मुलुकमा धेरै विकास आयोजना सञ्चालनमा रहेका र पछिल्लो समय तीन तहका सरकार गठनपछि कुन आयोजनाको कसले अनुगमन तथा मूल्यांकन गर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएको सन्दर्भमा उक्त विधेयक ल्याइएको हो।
स्थानीय तह, प्रदेश र संघ विकास आयोजना सञ्चालन तथा अनुगमन पनि भइरहेको सन्दर्भमा निश्चित कानुनी व्यवस्था आवश्यक रहेकाले विधेयक ल्याउनुपरेको मन्त्री शर्माले बैठकलाई जानकारी गराइन्।
हाल प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय विकास परिषद्, मन्त्रीस्तरमा विकास परिषद् तथा प्रदेश र स्थानीय तहले पनि आ–आफ्नै ढंगबाट अनुगमन गर्ने अभ्यास रहिआएको छ।
प्रस्तावित विधेयकमा तेस्रो पक्षद्वारा अनुगमन र मूल्यांकन गर्न सकिने व्यवस्था छ। अनुगमन तथा मूल्यांकनका लागि केही नयाँ संयन्त्रसमेत प्रस्ताव गरिएको छ। मन्त्री शर्माले तीनै तहले सञ्चालन गर्ने आयोजनाको अनुगमन र मूल्यांकन कुन ढंगबाट हुने, नीतिगत व्यवस्था के रहने तथा संरचनागत व्यवस्था कस्तो हुने विषय विधेयकमा समावेश गर्न जरुरी रहेको बताइन्।
अनुगमनलाई चुस्त, दुरुस्त र प्रभावकारी तुल्याउन कानुनी मान्यता तथा वैधता कसरी दिने भन्ने विषय विधेयकमा समेटिन आवश्यक रहेको जनाउँदै उनले आयोजनाको नियमित अनुगमन र मूल्यांकन नै विधेयकको महत्व तथा विशेषता रहेको जानकारी दिइन्।
विधेयकका संशोधनकर्ता प्रदीप पौडेलले राष्ट्रिय गौरवका आयोजनासमेत समयमा पूरा गर्न नसक्ने प्रवृत्तिलाई अन्त्य गर्न दोषीलाई कानुनी दायरामा ल्याउनुको विकल्प नरहेको बताए।
समितिका सदस्य रघुजी पन्तले मुलुकलाई आवश्यक कानुन फटाफट दिन नसकेकामा संसद् र सांसदको आलोचना भइरहेको सन्दर्भमा महत्वपूर्ण संशोधन कम भएकाले विधेयक छिटो पारित गर्नेतर्फ समितिका सबै सदस्यको जोडबल आवश्यक रहेको बताए।
अर्का सदस्य दिलेन्द्रप्रसाद बडूले विकास नीति र आयोजना छनोट अनुगमन प्रक्रियासमेत विधेयकमा समावेश गर्न जरुरी देखिएको औँल्याए। यस्तै, सदस्य हेमराज राईले अनुगमन र मूल्यांकनलाई दिगो तुल्याउन तथा विकास निर्माणका आयोजना अघि बढाउने सन्दर्भमा परम्परागत स्रोत र सम्पत्तिको संरक्षणमा पनि ध्यान पुर्याउन आवश्यक रहेको धारणा राखे।