धमाधम छापिँदै पाठ्यपुस्तक

शुक्रबार, १२ माघ, २०८०
डिजिटल संस्करण

सरकारले आगामी शैक्षिक सत्र ०८०/८१ का लागि पाठ्यपुस्तक छपाइको प्रक्रिया अघि बढेको छ । चालू शैक्षिक सत्रमा पनि सरकारले समयमै पाठ्यपुस्तक छपाइ र वितरण गरेको थियो ।

आगामी शैक्षिक सत्रका लागि पनि पाठ्यपुस्तक छपाइमा ढिलो हुन नदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनक शिक्षा सामग्री केन्द्रको अनुगमन गरेको छ । टोलीले भर्नाअघि नै छपाइसक्ने गरी काम गर्न निर्देशनसमेत दिएको छ । केन्द्रले छपाइको काम सुरु भइसकेको अनुगमन टोलीलाई जानकारी गराएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्नाअघि नै विद्यालयमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएपछि गत वर्ष युद्धस्तरमा छपाइ कार्य सम्पन्न भएर इतिहासमै पहिलोपटक सबै विद्यार्थीले भर्नासँगै पुस्तक पाएका थिए ।

यस वर्ष पनि पाठ्यपुस्तक समयमै छाप्न र वितरण गर्ने विषयमा प्रचण्डले जोड दिएका छन् । अनुगमन टोलीसँग कुराकानी गर्दै केन्द्रका प्रबन्ध–निर्देशक अनिलकुमार झाले समयमै पाठ्यपुस्तक पुर्याउन आफूहरू प्रतिबद्ध रहेको बताए ।

‘छपाइका लागि आवश्यक कागज खरिद भइसकेको र छाप्ने काम पनि दुई सिफ्टमा सातै दिन, २४सै घन्टा चलिरहेको छ,’ झाले भने, ‘पुस्तक छपाइसँगै विभिन्न डिपोमा ढुवानी कार्यसमेत सँगै चलिरहेको छ ।’ शिक्षा मन्त्रालयले यस वर्षको पुस्तक छपाइका लागि कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखाना र कक्षा ५ देखि १२ सम्म जनक शिक्षाले छपाइ गर्ने निर्णय गरेको थियो ।

सुझावित समाचार