हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी र गण्डकी प्रदेशका केही पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। साथै देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने र तराईमा दिनभरि हुस्सु लाग्ने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।
उनका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज बिहान काठमाडौंको वायुको तापक्रम ७ डिग्री सेन्डिग्रेड मापन गरिएको तथा पारदर्शिता दुई हजार पाँच सय मिटर रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ। यसैगरी, काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम ५.४ डिग्री रहेको छ भने आज अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेन्डिग्रेडको बीचमा रहने मौसमविद् अधिकारीलले बताए।
यसैगरी, आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।