चितवनमा बोराभित्र भेटिएका दुवै शव भारतीयको

मंगलबार, २४ पुष, २०८०
डिजिटल संस्करण
चितवनमा बोराभित्र भेटिएका दुवै शव भारतीयको

मृतक १९ वर्षीय युवक ऋषभ कुमार कुशवाहा र बिहार पूर्वी चम्पारणकी ३० वर्षीय युवती अस्मिता भन्ने सन्जु देवी

प्रेमको आशंकाले आफ्नै श्रीमती र भतिजलाई मारेको प्रहरीको निष्कर्ष

महेन्द्र राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका– १२ मिलनचोकनजिकै कल्भर्टमा बोराभित्र मंसिर ६ गते भेटिएका दुईवटा शवको पहिचान खुलेको छ । फेला परेका दुवै शव भारतीय नागरिककाे रहेकाे प्रहरीले जनाएकाे छ । 

उक्त शव भारतकाे मोतीहारी फुलबारीया, सुगौलीका १९ वर्षीय युवक ऋषभकुमार कुशवाहा र बिहार सुगांव डिह सुगौली, पूर्वी चम्पारणकी ३० वर्षीया युवती अस्मिता भन्ने सञ्जु देवीको भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार उनीहरू नेपालमा तरकारी तथा फलफूल व्यापारका लागि पटक–पटक आउने–जाने गर्दथे । कात्तिक दोस्रो हप्तादेखि उनीहरू मृतक पुरुषको काका नाता पर्नेको कोठानजिकै भाडामा कोठा लिई बस्दै आएका थिए । 

यस्ताे छ हत्याकाे कारण 

हत्यामा संलग्न अखिलेश भगत

मृत्यकहरूको बीचमा रहेको सम्बन्धका कारण हत्या भएको प्रहरीको अनुमान छ । मृतक युवती सञ्जु देवीका श्रीमान् अखिलेश भगतले उनीहरूको सम्बन्धलाई लिएर शंका गरी झै-झगडा गरिरहन्थे ।

अनुसन्धानको क्रममा मंसिर २ गते अखिलेशले निजहरू बस्ने गरेको भाडाको कोठामा नै मारेर दुवैजनालाई दुईवटा जुटको बोरामा प्याक गरी साइकलमा पालैपालो राति १२:४५ र १:१२ को समयमा कलभर्टतर्फ लगेको सिसिटिभी फुटेजमा देखिएको छ। 

हत्याको चार दिनपछि भेटिएको शवको पहिचान लामो समयसम्म नभएपछि प्रहरीले पहिलोपटक हुलिया र दोस्रोपटक उनीहरूको स्केच सार्वजनिक गरेको थियो । हत्यालगत्तै मंसिर १६ गते अखिलेश कोही कसैलाई जानकारी नगराई भारततर्फ भागेका थिए ।

भारतीय प्रहरीसँगको समन्वयमा अखिलेशले देवीलाई हत्या गरी आएको भन्ने स्वीकार गरेका छन् । हाल उनी भारतको केन्द्रीय कारागृह मोतीहारीमा छन् । 

केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय चितवनले यो घटनाको अध्ययन गरेका थिए । 
 

See More On

सुझावित समाचार