सम्पत्ति शुद्धीकरण अभियोगमा जोशी दोषी ठहर

मंगलबार, १७ पुष, २०८०
डिजिटल संस्करण

विशेष अदालतले सम्पत्ति शुद्धीकरणको अभियोगमा पंकज जोशीलाई दोषी ठहर गरेको छ। सजाय निर्धारणका लागि भने २५ पुसको पेसी तोकिएको छ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले मंगलबार यस्तो फैसला गरेको हो। मुद्दा दर्ता भएको झन्डै तीन वर्ष पुग्न लाग्दा विशेषले कसुर कायम हुने गरी फैसला सुनाएको हो।

जोशी संयुक्त राज्य अमेरिकामा समेत ‘फ्रड केस’मा मुद्दा चलिसकेका व्यक्ति हुन्। उनले ठगी गरेको रकम अमेरिकास्थित बैंकबाट नेपालको बैंक अफ काठमाडौंमा ट्रान्सफर गरेका थिए। जसपछि आवश्यक सहयोग गरिदिन भनी अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो।

अनुसन्धानपश्चात् जोशीले सम्पत्ति शुद्धीकरण गरेको निष्कर्षसहित विभागले १३ चैत २०७७ मा मुद्दा दायर गरेको थियो। जोशीको खातामा अमेरिकाबाट दुई लाख ९० हजार डलरको तत्कालीन हुन आउने नेपाली रुपैयाँ आएको भेटिएको थियो। उक्त रकमको वैध स्रोत देखाउन नसकेपछि मुद्दा चलेको थियो।

सुझावित समाचार