धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

शुक्रबार, २९ मंसिर, २०८०
डिजिटल संस्करण

धनुषामा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

मृत्यु हुनेमा धनुषा कमला नगरपालिका– ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका– १ का ३० वर्षीय जयकुमार सहनी रहेका जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए। उनका अनुसार सोही मोटरसाइकलमा सवार जनकपुरधाम उपमहानगरपालिका– १२ का शत्रुधन सहनी गम्भीर घाइते भएका छन्। 

सहनीको जनकपुरधाममा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौंको न्युरो अस्पताल सिफारिस गरिएको अवालेले जानकारी दिए। 

आज बिहान जनकपुरधामबाट ढल्केबरतर्फ जाँदै गरेको प्रदेश २–०२–००२प ४०९२ नम्बरको मोरसाइकल लक्ष्मीनियाँ गाउँपालिका– ४ सपहीस्थित पुलभन्दा ५० मिटर उत्तरतिर अनियन्त्रित भएर दुर्घटना भएको थियो। 

सुझावित समाचार