चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण

शनिबार, १६ मंसिर, २०८०
डिजिटल संस्करण

चालू आर्थिक वर्ष ०८०/८१ को पहिलो चौमासिक अवधिमा रु ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रु २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाखबराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा २३ खर्ब ५७ अर्ब छ करोड नाघेको हो।
     
कार्यालयको गत कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार हालसम्म नेपालले तिर्न बाँकी आन्तरिक ऋण रु ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्य ऋण रु ११ खर्ब ७३ अर्ब ७९ करोड ६६ लाख रहेको छ।
     
चालू आवको चार महिनामा सरकारले आन्तरिक ऋणको सावाँब्याज भुक्तानीमा रु ६५ अर्ब ४५ करोड ८३ लाख र बाह्य ऋणको सावाँब्याज भुक्तानीमा रु १६ अर्ब १८ करोड ६१ लाखबराबर भुक्तानी गरेको देखिएको छ। 

यही अवधिको ऋण प्राप्तिको अवस्था हेर्दा साउनदेखि कात्तिक मसान्तसम्ममा रु ९७ अर्ब ३१ करोडबराबर आन्तरिक ऋण र रु १५ अर्ब ८५ करोड ३० बाह्य ऋण गरी कुल एक खर्ब १३ अर्ब १६ करोड ३० लाखबराबर ऋण उठाइएको छ।
     
चालू आवको पहिलो चौमासिक अवधिमा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको सावाँ र ब्याज भुक्तानीमा गरेको खर्च करिब तीन गुणाले बढी छ। गत कात्तिक मसान्तसम्ममा सरकारले रु २९ अर्ब ९८ करोड ९४ लाखबराबर पुँजीगत खर्च गरेको छ। यही अवधिमा सार्वजनिक ऋणको सावाँब्याज भुक्तानीमा भने रु ८१ अर्ब ६४ करोड ४४ लाखबराबर खर्च गरेको छ।

सुझावित समाचार