सामाजिक सुरक्षा कोषमा नौ लाखभन्दा बढी श्रमिक आबद्ध

योगदानकर्ताका सन्ततिले पनि स्वास्थ्य उपचार सुविधा पाउने

मंगलबार, १२ मंसिर, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहालले समाजिक सुरक्षा कोषले योगदानकर्ताका पारिवारलाई पनि स्वास्थ्य उपचार सेवा दिइने बताएका छन् । कोष स्थापनाको पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनका अनुसार आगामी केही दिनमा नै औपचारिक रूपमा नयाँ सुविधा घोषणा गरिनेछ ।

 कोषले उपलब्ध गराउँदै आएको स्वास्थ्य उपचार सुविधाअन्तर्गत हालसम्म योगदानकर्ता र योगदानकर्ताको पति वा पत्नीले सुविधा पाउने व्यवस्था थियो । तर, अब भने १८ वर्ष नपुगेका सन्ततिले पनि यस्तो सुविधा पाउने उनले बताए । ‘मैले विभागीय मन्त्रीमार्फत कोषबारे जानकारी लिँदै आएको छु ।

सुरुवाती चरणमा कोषमा सूचीकृत योगदानकर्ताले मात्रै स्वास्थ्योपचारलगायत अन्य सुविधा पाउने व्यवस्था थियो । त्यसमा सुविधाहरू थप गर्दै योगदानकर्ताका परिवारलाई नै स्वास्थ्य उपचार सुविधा दिने गरी गृहकार्य भइरहेको सुन्दा मलाई अत्यन्तै खुसी लागेको छ,’ उनले भने । स्वास्थ्यमा सबैको सहज पहुँच पुर्याउन यो कार्यक्रम एक उत्कृष्ट नमुना कार्यक्रम उनले विश्वास व्यक्त गरे । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले हालसम्म पाँच लाख श्रमिक कोषमा आबद्ध भइसकेको भन्दै विदेशमा रहेका नेपाली र अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि समावेश हुन आग्रह गरे ।  

‘सबैलाई सामाजिक सुरक्षा’ भन्ने राष्ट्रिय लक्ष्य हासिल गर्न आफ्नै निर्देशन र पहलमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सामाजिक सुरक्षाको सुरुवात गरिएको बताउँदै उनले कार्यक्रमको कार्यान्वयनमा देखिएका चुनौती सामूहिक प्रयासबाट सम्बोधन हुने विश्वास राखेको बताए । ‘गत चैत ८ गते मात्रै सुरुवात गरिएको उक्त कार्यक्रममा लाखौँ श्रमिक सूचीकृत भइसकेको जानकारी पाउँदा थप उत्साहित छु । यस सन्दर्भमा सरल र सहज रूपमा सुविधा उपलब्ध गराउन कोषको व्यवस्थापकीय पक्षलाई सुदृढ तुल्याउनसमेत निर्देशित गर्दछु,’ उनले भने । त्यस्तै, कार्यक्रममा कोषका कार्यकारी अधिकृत कविराज अधिकारीले भने कोषलाई अझै सुदृढ बनाउन नयाँ अनलाइन भुक्तानी तथा नयाँ स्वास्थ्य संस्थाहरू सम्झौता गरिने बताए ।

 साढे १८ हजार रोजगारदाता आबद्ध
सामाजिक सुरक्षा कोषमा हालसम्म नौ लाखभन्दा बढी श्रमिक आबद्ध भएका छन् । कोषका अनुसार हालसम्म नौ लाख २८ हजार चार सय ५३ योगदानकर्ता कोषमा आबद्ध भएका छन् । जसमा औपचारिकतर्फ चार लाख ६१ हजार सात सय ९६ जना, वैदेशिक रोजगारीतर्फ चार लाख ६६ हजार ६ सय २२ जना, स्वरोजगारमा ३२ जना र अनौपचारिकतर्फ तीनजना श्रमिक आबद्ध भएका छन् । 

सरकारले ११ मंसिर ०७५ मा औपचारिक क्षेत्रका श्रमिकका लागि सामाजिक सुरक्षा कोष योजना सञ्चालनमा ल्याएको हो । त्यस्तै, वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि भने ८ चैत ०७९ मा समाजिक सुरक्षालाई अनिवार्य गरिएको हो । साथै, गत साउनदेखि भने अनौपचारिक क्षेत्र तथा स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न थालिएको हो । अनौपचारिक क्षेत्रको कार्यविधि कार्यान्वयका लागि सातवटा पालिकाले कोषसँग सम्झौता गरिसकेको छ । त्यस्तै, कोषमा हालसम्म १८ हजार चार सय ३९ रोजगारदाता आबद्ध भएका छन् ।

संख्यामा दृष्टिकोणमा कोषका अझै पनि धेरै रोजगारदाता र श्रमिक आबद्ध हुन बाँकी रहेको कोषका कार्यकारी अधिकृत अधिकारीले बताए । कोषलाई अनिवार्य गरिसक्दा पनि कोषका आबद्ध हुन आनाकानी गर्नु र सूचीकृत भइसकेको रोजगारदाताले योगदान रकम भुक्तानी नगर्नु कोषको मुख्य चुनौती भएको उनको भनाइ छ । 

 ४४ अर्ब ८५ करोड संकलन
हालसम्म योगदानकर्ताबाट कोषमा ४४ अर्ब ८५ करोड संकलन भएको छ । तर, कोषले हालसम्म दाबीबापत ६ अर्ब ४५ करोड ६६ लाख ६८ हजार रुपैयाँ योगदानकर्ता र उनका परिवारलाई भुक्तानी गरिसकेको छ । कोषले सञ्चालन गरेको औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा एक लाख ४३ हजार दुई सय ४२ वटा दाबीबापत ७६ करोड २५ लाख ५९ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा तीन हजार ६ सय ८५ वटा दाबीबापत आठ करोड ७७ लाख २९ हजार रुपैयाँ दाबी भुक्तानी गरेकोे छ । आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत चार सय १४ श्रमिकका परिवारलाई ११ करोड ३० हजार र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत पाँच अर्ब ४९ करोड ६३ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिएको कोषले जनाएको छ । कोषले सञ्चालन गर्ने स्वास्थ्य उपचार तथा मातृत्व सुरक्षा योजना र दुर्घटना योजनाअन्तर्गतका सुविधा यसै आर्थिक वर्षदेखि योगदानकर्ताले कोषको प्रणालीसँग आबद्ध स्वास्थ्य संस्थामार्फत सोझै नगदरहित रूपमा नै प्राप्त गर्ने व्यवस्था गरिएको छ । हाल कोषको सुविधा प्रदान गर्ने अस्पतालको संख्या ७० रहेकोमा यो संख्या क्रमशः बढाउँदै लाने कोषको नीति रहेको छ ।

 योगदानकर्तालाई ७.५ प्रतिशत ब्याज भुक्तान
सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई ७.५ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । कोषले चालू आर्थिक वर्ष ०८०/८१ का लागि योगदानकर्ताको योगदान रकममा वार्षिक ७.५ प्रतिशतका दरले ब्याजदर तोकेको हो । यसका अतिरिक्त योगदान रकममा प्रतिफलसमेत प्रदान गर्दै आएको छ ।

यस्तो प्रतिफल रकम गत ०७८/७९ मा ब्याजका अतिरिक्त योगदान रकमको १.२५ प्रतिशतका दरले सम्बन्धित खातामा जम्मा गरिएको कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले बताए । यसैगरी योगदानकर्तालाई कोषले धितोमा आधारित घर र शैक्षिक सापटीका लागि वार्षिक ९.२५ प्रतिशत र विशेष सापटीका लागि वार्षिक ८.६ प्रतिशत ब्यजदर कायम गरेको उनले बताए । योगदानकर्ता सापटीअन्तर्गत हालसम्म नौ हजार सात सय ६४ जना योगदानकर्ताले कुल एक अर्ब ७५ करोड ६० लाख सहुलियतपूर्ण ब्याजदरमा सापटी लिएको कार्यकारी अधिकृत अधिकारीले बताए ।  
 

सुझावित समाचार