सामाजिक सञ्जालमा घृणायुक्त अभिव्यक्ति बन्द गर : आयाेग

शुक्रबार, ८ मंसिर, २०८०
डिजिटल संस्करण

राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंमा भएको प्रदर्शन र सामाजिक सञ्जालमा सार्वजनिक भएका घृणायुक्त अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगले आज शुक्रबार विज्ञप्ति जारी गर्दै घृणायुक्त अभिव्यक्ति बन्द गर्न र आन्दोलनमा अनावश्यक बल प्रयोग नगर्न आग्रह गरेको हो। 

बिहीबार युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले छुट्टाछुट्टै  प्रदर्शन गरेका थिए। साथै प्रसाईं समूहले आज पनि उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन गरेको थियो। उक्त प्रदर्शनमा बल प्रयोग भएको आयोगको ठहर छ। 

आयोगले आफ्ना विमति र विरोधका कार्यक्रम गर्दा संविधान, कानुन र मानव अधिकारका मूल्य–मान्यता र परिधिभित्र रहन, कसैप्रति लक्षित गरी घृणायुक्त अभिव्यक्ति नदिन एवं पोस्टर तथा श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा नराख्न, सामाजिक सञ्जालको दुरुपयोग रोक्न, हिंसा भड्किने प्रकारका कुनै पनि गतिविधि नगरी जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आयोगले प्रदर्शनमा सहभागी समूहलाई आग्रह गरेको छ। साथै नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न, उनीहरूमाथि अनावश्यक बल प्रयोग र धरपकड नगर्नसमेत आयोगले सरकारलाई आग्रह गरेको छ।

सुझावित समाचार