हमासको आक्रमणमा निधन भएका चारजना विद्यार्थीको पार्थिव शरीर आफन्तलाई बुझाइयो

आइतबार, ५ कार्तिक, २०८०
डिजिटल संस्करण

इजरायलमा हमासको आक्रमण परेर ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका चारजना विद्यार्थीको शव आज साँझ आफन्तलाई बुझाइएको छ । 

कैलालीको घोडाघोडी नगरपालिकाका– ४ का नारायणप्रसाद न्यौपाने, जोशीपुर गाउँपालिका– ५ का आशिस चौधरी, दार्चुलाको लेकम गाउँपालिका– ५ का दीपेशराज विष्ट र दार्चुलाकै मालिकार्जुन गाउँपालिका– ४ का लोकेन्द्रसिंह धामीको शव आफन्तलाई बुझाइएको हो ।

चारैजनाको शव नेपाली सेनाको स्काई भ्यानमा राखेर काठमाडौंबाट धनगढी विमानस्थल  ल्याइएको थियो । जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा चारैजनाको शव विमानस्थलमा आफन्तलाई बुझाइएको हो । 

जिल्ला प्रशासनका प्रशासकीय अधिकृत शिवराज जोशीले स्थानीय तहको समन्वयमा एम्बुलेन्सको व्यवस्था गरेर शव पठाइएको बताए । 

मृतकका आफन्तलाई भेट्न इजरायलका लागि नेपाली राजदूत काठमाडौंबाट धनगढी विमानस्थल आएका थिए । ‘लन एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालय कृषि विषयमा अध्ययनरत १० जना विद्यार्थीको हमासको आक्रमणमा परी मृत्यु भएको थियो । जसमध्ये आज चारजनाको शव नेपाल ल्याइयो  भने बाँकी शव ल्याइने  क्रममा छन् ।  एकजना विद्यार्थी अझै बेपत्ता छन् ।

See More On

सुझावित समाचार