प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुने बताएका छन्।
नेकपा माओवादी केन्द्र मुस्ताङ शाखाले आज जोमसोममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले हालै चीन भ्रमणका क्रममा १४ वटा व्यापारिक नाका नियमित सञ्चालन गर्ने समझदारी भएको जानकारी गराए।
‘यस क्षेत्रका बासिन्दालाई प्रवेशपत्रको आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने समझदारी भएको छ,’ उनले भने, ‘कोरला नाकाको नेपालतर्फ भौतिक पूर्वाधार निर्माणमा चीनले सघाउने मेरो भ्रमणका क्रममा सहमति भएको थियो।’
प्रधानमन्त्री प्रचण्डले कार्यक्रम अघि हेलिकाेप्टरबाट कोरला नाका, लोमान्थाङ, मुक्तिनाथ र गत साउनको बाढीले क्षति पुगेको कागबेनी निरीक्षण गरे।
कोरला नाका जोड्ने कालीगण्डकी करिडोर सडक स्तरोन्नतिलाई पूूर्णता दिन सरकारले प्राथमिकता दिएको पनि उनले बताए। नेपालको प्रमुख चुुनौतीका रूपमा रहेको भ्रष्टाचारविरुद्ध सरकारले थालेको सुशासनको अभियान नरोकिने पनि प्रधानमन्त्री प्रचण्डकाे भनाइ थियाे।
कार्यक्रममा उक्त पार्टीका गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेल, प्रदेश अध्यक्ष गायत्री गुुरुङले तीनमहिने जनतासँग अभियानले माओवादीलाई जनतामा फर्काएको र जनताको समस्या समाधानसँगै संगठन निर्माणमा उत्साह छाएको बताए।
प्रधानमन्त्रीसमक्ष स्थानीयवासीले कालीगण्डकी नदीको कटान, उपल्लो मुस्ताङको पाँचवटा गाउँलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन र जग्गासम्बन्धी समस्या समाधान गर्न माग गरेका थिए।