एक सय ३१ केभी डबल सर्किट प्रसारणलाइनको तार फेर्ने गरी हुँदै गरेको स्तरोन्नति कार्यमा सर्लाहीको लालबन्दी क्षेत्रका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । करिब ४१ वर्षअघि निर्माण भएको प्रसारणलाइनको मार्गधिकारमा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति पाउनुपर्ने, उक्त जग्गालाई बैंक तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन पाउनुपर्नेलगायतका माग राखी स्थानीयले लाइनको तार फेर्ने कार्यमा १९ असोजदेखि अवरोध गरेका हुन् ।
नेपाल विद्युत् प्राधिकरणले पूर्व–पश्चिम एक सय ३२ केभी डबल सर्किट प्रसारणलाइनको क्षमता वृद्धि गरी विद्युत् प्रवाह बढाउन मकवानपुरको हेटौँडादेखि धनुषाको ढल्केबर सबस्टेसनसम्मको करिब एस सय ३६ किलोमिटर खण्डमा पर्ने कम क्षमताको पुरानो तारलाई बदलेर नयाँ तार राखी प्रसारण प्रणाली सुधार सुरु गरेको छ । यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने, पश्चिम क्षेत्रमा उत्पादित विद्युत्लाई पूर्वतर्फ थप प्रवाह गर्न सकिने, ढल्केबरबाट पश्चिमतर्फ विद्युत् प्रवाहका लागि थप सहज हुने र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत्लाई ढल्केबर सबस्टेसनमार्फत भारततर्फ निर्यात गर्न सकिन्छ ।
ढल्केबर सबस्टेसनबाट सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनसम्मको करिब ४० किलोमिटर लाइनमध्ये एउटा सर्किटको करिब ३६ किलोमिटर तार फेरिएको छ । तर, लालबन्दी बजार क्षेत्रका स्थानीयको अवरोधका कारण करिब चार किलोमिटर तार फेर्ने काम रोकिएको छ । तार बदल्ने क्रममा टावरमा जोडिएको पुरानो तार काटेर अस्थायी रूपमा बाँधी राखिएको छ । एउटा सर्किट बन्द हुँदा ढल्केबरबाट पश्चिमतर्फ र हेटौँडाबाट पूर्वतर्फ विद्युत् प्रवाह गर्न समस्या हुँदा यसले देशकै समग्र विद्युत् प्रसारण प्रणाली प्रभावित बनाइरहेको छ । कन्डक्टर बदल्न एउटा सर्किट बन्द गरिएकाले अहिलकोे लाइन क्षमताले नधान्दा ट्रिपिङलगायतका समस्या आएर विद्युत् मागलाई व्यवस्थापन गर्न असहज भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘नयाँ प्रसारणलाइन निर्माणमा जताततै अवरोध छ, अब ४०–४१ वर्षअघि बनेर चालू अवस्थामा रहेको लाइनमा समेत तार फेर्न खोज्दा अहिले आएर क्षतिपूर्तिको माग गर्दै अवरोध हुन थालेको छ, यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ ? अवरोध हटाउन हाम्रो तर्फबाट सक्दो प्रयास र पहल भइरहे पनि सफल हुन सकिरहेका छैनौँ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘तत्काल काम गर्न सकेनौँ भने ढल्केबरबाट थप विद्युत् पश्चिमतर्फ पठाउन नसकी हिउँदमा वीरगन्जलगायतका क्षेत्रमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्छ । यस्तो संवेदनशील लाइनको काममा अवरोध नगरिदिन आग्रह गर्दछु ।’
आयोजना प्रमुख राजेन्द्र कोइरालाले अवरोधका विषयमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी, लालबन्दी नगरपालिका प्रमुख, प्रहरी प्रमुख, सम्बन्धित वडाध्यक्ष, स्थानीय बासिन्दालगायतसँग पटक–पटक छलफल गरिए पनि कुनै निष्कर्ष आउन नसकेको बताए । एक सय ३२ केभी प्रसारण लाइनको मध्यविन्दुबाट दायाँ–बायाँ नौ–नौ मिटर मार्गधिकार तोकिएको छ । बैंक तथा वित्तीय संस्थाले उक्त मापदण्डभन्दा विपरीत ५० मिटरसम्म पर्ने जग्गाको समेत धितो नलिने गरेको स्थानीयले गुनासो गर्दै आएका छन् ।