कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका कांग्रेस नेता केदार कार्की आफूलाई समर्थन गरेका सांसदसहित प्रदेश प्रमुख कार्यालयमा पुगेका छन्।
कार्की आफूलाई समर्थन दिएका ४७ प्रदेश सांसदसहित प्रदेश प्रमुख पर्शुराम खापुङको कार्यालयमा पुगेका हुन्। कार्कीले पार्टी निर्णयविपरीत एमालेको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
प्रदेश प्रमुख खापुङले दाबी पेसका लागि शुक्रबार साँझ ५ बजेसम्मका लागि दिएको समय सकिएको छ। प्रदेश प्रमुख खापुङले दाबी पेस गर्ने समय सकिएपछि निर्णय लिने बताउँदै आएका छन्।
कांग्रेस, माओवादी केन्द्रसहित सत्तागठबन्धनबाट भने माओवादीका सांसद इन्द्र आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। कोशी प्रदेश सभामा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका चार र जसपाका एक सदस्य छन्।
यता सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा कार्यसम्पादन समितिको बैठक जारी छ। यसअघि देउवा, महामन्त्री विश्वप्रकाश शर्मा, कृष्ण सिटौला, मीनेन्द्र रिजालले प्रधानमन्त्रीसँग भेट गरेपछि देउवानिवास धुम्बाराहीमा फर्किएका हुन्।
धुम्बाराही स्रोतका अनुसार प्रधानमन्त्रीले तपाईंहरू मिलेर आउनुस्, केदार कार्कीको नाम फिर्ता लिएर अर्को कांग्रेसको व्यक्तिको नाममा सहमत हुन सकिने सन्देश पठाएका छन्।