बेलौरीमा लागुऔषधविरुद्ध महाअभियान सुरु

शुक्रबार, २६ असोज, २०८०
डिजिटल संस्करण

सीमावर्ती सुदूरपश्चिम कञ्चनपुरको बेलौरीमा लागुऔषधविरुद्धको महाअभियान सुरु भएको छ। शुक्रबारदेखि बेलौरी नगरपालिकामा लागुऔषधविरुद्धको महाअभियान सुरु भएको हो। 

भारतसग सीमा जोडिएको बेलौरीमा पछिल्ला वर्षहरूमा लागुऔषध ओसारपसार, कारोबार एवं सेवनका घटना बढ्दै गएपछि बेलौरी स्थानीय सरकारले लागुऔषधविरुद्धको अभियान सुरु गरेको छ। 

लागुऔषधविरुद्धको महाअभियान उद्घाटन समारोहको अध्यक्षता समेत ग्रहण गरेका बेलौरी नगरका मेयर पोतीलाल चौधरीले समाजमा विकरात रूपमा देखिएको लागुऔषध नियन्त्रणका लागि अभियान थालिएको बताए। 

मेयर चौधरीले भारतसँग प्रत्यक्ष सीमा जोडिएको बेलौरीमा लागुऔषधका कुनै पनि कारोबार सेवन एवं ओसारपसार नियन्त्रणका लागि अभियान थालिएको बताए। ‘आजदेखि हामीले अभियान सुरु गरेका छौँ,’ मेयर चौधरीले भने, ‘बेलौरीका १० वटै वडा र सबै बस्तीहरूमा सरोकारवालासँग समन्वय गरेर थप बस्ती स्तरमा सचेतनामूलक कार्यक्रम गछौँ।’
 
हालसालकै वर्षहरूमा बेलौरीका ९१ जना स्थानीय युवा लागुऔषधको मुद्दा खेपिरहेको र बेलौरी क्षेत्रको भूगोलबाट झन्डै दुई सयजना पक्राउ गरिएको बताए। ‘भावी दिनमा लागुऔषधको थप भयाभह अवस्थाबाट जोगिन हामीले समयमै अभियान सुरु गरेका छौँ,’ मेयर चौधरीले भने, ‘लागुऔषध नियन्त्रण एक निकायबाट मात्रै सम्भव नहुने भएकाले समाजका सबै तहतप्ताबाट हुने विषय भएकाले हामीले अभियान नै सञ्चालन गरेका छौँ।’ 

मेयर चौधरीले बेलौरी मात्रै नभई दक्षिण क्षेत्रका अन्य पालिकासँग समन्वय गरेर यस क्षेत्रलाई लागुऔषधमुक्त गराउने उद्देश्य रहेको बताए। उनले लागुऔषध नियन्त्रणका लागि पालिकासँगै प्रदेश र सघीय सरकारले समेत सहयोग गर्नुपर्नेमा जाेड दिए। 

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले लागुऔषध नियन्त्रणका लागि स्थानीयस्तरमा बेलौरीजस्तै अन्य पालिकाहरूले समेत अभियान सञ्चालनमा जोड दिए। 

सुदूरपश्चिम प्रदेशका आन्तरिक तथा कानुनमन्त्री शिवराज भट्टले  लागुऔषध नियन्त्रणका लागि सुरक्षा निकाले थालेको कामकारबाहीमा समेत सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिएका छन्। मन्त्री भट्टले प्रदेश सरकारले समेत लागुऔषध नियन्त्रणका लागि सरोकारवालासँग समन्वय गरेर अघि बढ्ने बताए।

सुदूरपश्चिम प्रदेशका समाजिक विकासमन्त्री झपटबहादुर साउदले लागुऔषध जरैदेखि निर्मूल पार्नका लागि प्रदेश सरकारले समेत पालिकासँग सहकार्य समन्वय गर्ने बताए। 

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्यत्रय ओमविक्रम भाट (सरल), दिवानसिंह विष्टले समेत लागुऔषध नियन्त्रणका लागि बेलौरी पालिका सरकारले थालेको अभियान सराहनीय भएको प्रशंसा गर्दै अभियानमा साथ समर्थन जनाएका छन्। 

सुदूपश्चिम प्रदेश प्रहरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भारत बोहाेराले पछिल्ला दिनमा सुदूरपश्चिममा लागुऔषध भयाभह अवस्थामा रहेको औँल्याए। उनले लागुऔषध नियन्त्रणका लागि प्रहरीले यस्तै पालिका सरकारसहितका सरोकारवालासँगको सहकार्यमा कार्यक्रम गरेर नियन्त्रण गरिरहेको बताए। 

बेलौरी नगरपालिकाभरिका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी, अभिभावक, भलमन्सा, स्थानीय विभिन्न संघसंस्थाले बजारमा जनचेतनामूलक र्याली निकालेका थिए। कार्यक्रमका सञ्चालक बेलौरी नगरका कर्मचारी मानबहादुर चन्द र शिक्षक लक्ष्मण दियालले सञ्चालन गरेका थिए।

कार्यक्रममा विभिन्न क्षेत्रका हजारौँको सहभागिता थियो। स्थानीय नागरिक सहित जिल्ला प्रदेशका सरोकारवालाले बेलौरीले सचालन गरेको अभियान सरायिन भएकोले निरन्तरता दिनुपर्नेमा सुझाव दिएका छन्। 

सुझावित समाचार