महिलाको श्रमबजार सहभागिताको नतिजाबारे हामी सबैको बुझाइलाई परिष्कृत’ बनाएको भन्दै सन् २०२३ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हार्बर्ड विश्वविद्यालयकी अर्थशास्त्रकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई दिइएको छ । अर्थशास्त्रमा नोबेल पुरस्कार पाउने उनी तेस्रो महिला हुन् । त्यसैगरी पुरस्कारले पुरुष र महिलाको श्रमबजार सहभागिताले निम्तिने नतिजामा आधारभूत भिन्नता हुन्छ भन्ने अनुसन्धानलाई पहिलोपटक मान्यता दिएको छ । अमेरिकाकेन्द्रित उनको अनुसन्धानले महत्वपूर्ण प्रयोगसिद्ध एवं सैद्धान्तिक योगदान पुर्याएको छ ।
प्रयोगसिद्ध पाटोबाट हेर्ने हो भने श्रम सर्वेक्षणमा पुरुषलाई मात्रै उत्तरदाता बनाउने समयमा उनले अमेरिकामा महिलाको श्रमबजार सहभागिताको नतिजाको तथ्यांक संकलन गर्न नवप्रवर्तनीय विधिको प्रयोग गरेकी थिइन् । उनको अनुसन्धानले आर्थिक वृद्धि र महिला श्रमशक्तिको सहभागिताबीचको गैररेखिक सम्बन्धलाई उजागर गरेको थियो ।
विभिन्न क्षेत्र (काउन्टी) बाट लिइएका प्रमाण र ऐतिहासिक तथ्यांकमार्फत उनले प्रयोगसिद्ध ढंगले आर्थिक वृद्धि र महिला श्रमशक्तिको सहभागिताबीच अंग्रेजी अक्षर ‘यु’जस्तो देखिने वक्र–आकारको सम्बन्ध स्थापित गरेकी थिइन् । अर्थात न्यून आर्थिक वृद्धिको अवस्थामा महिलाको श्रमबजार सहभागिता विशेषतः कृषि क्षेत्रमा बढी हुने देखाएको थियो । तर, आर्थिक वृद्धि र कृषिबाट आर्थिक क्षेत्रको विविधीकरण हुँदा महिला सहभागितामा कमी आएको उनले देखाएकी थिइन् ।
गोल्डिनले ‘आय प्रभाव’ र कृषिमा भएको प्राविधिक विकासका कारण सुरुवाती चरणमा महिलाको सहभागिता घटेको दलिल पेस गरेकी थिइन् । तर, आर्थिक वृद्धिको एक निश्चित स्तरपछि उच्च शिक्षाको स्तर र गैरशारीरिक श्रमको उदयका कारण महिलाको श्रमक्षेत्रमा सहभागिता बढ्यो, जहाँ महिलाका लागि बदनाम बनेको कारखानाको रोजगारी प्रतिस्थापित भएको थियो । भारतमा हालैका वर्षमा महिलाको रोजगारीमा वृद्धि विशेषतः औपचारिक तलब पाउने पदमा भएको वृद्धि गोल्डिनको कारखानाबाट गैरशारीरिक श्रममा प्रतिस्थापित भएको अवधारणासँग मेल खान्छ । थप महिलालाई श्रमशक्तिमा सामेल हुन प्रोत्साहित गर्न सुरक्षित रोजगारीका अवसर सिर्जनालाई भारतीय नीतिको प्राथमिकतामा राखिनुपर्छ ।
गोल्डिनले नोबेल पुरस्कार पाउनुले उनको अनुसन्धानलाई स्वीकार मात्र गर्दैन, यसले पहिले बेवास्ता गरिएका विषयलाई ढिलै भए पनि मान्यता दिन्छ
गोल्डिन पुरुष र महिलाबीचको आय अन्तर र श्रमबजारको असमानतालाई घरायसी कामका मूल्य–मान्यता, मोलतोल गर्न सक्ने शक्तिमा हुने विविधता र रोजगारदाता पक्षको भेदभावजस्ता कारकलाई श्रेय दिन्छिन् । हालै गोल्डिनले ‘लोभी रोजगारी’को अवधारणा अघि सारेकी छिन् र यस्तो रोजगारीमा सीमित लचिलोपन र लामो कार्यअवधि हुन्छ, तर यससँग अत्यधिक तलब भने जोडिन्छ ।
महिलाले हेरचाहको बोझ धेरै बोक्नुपर्ने र महिलाले गर्ने गहन कामलाई सामान्य बनाउने संस्कृतिले पुरुषले यी तलब भएका रोजगारीतर्फ बढी मौका पाउँछन् । यसले लैंगिक असमानतालाई थप फराकिलो बनाउँछ । गोल्डिनको कामबाट धेरै सिक्न सकिन्छ । भारतको सन्दर्भमा श्रमबजारमा पहिचानमा आधारित असमानताबारे बुझ्न लिंग र जातलगायत सामाजिक समूहमा तथ्यांक संकलन गर्नु आवश्यक छ भन्ने देखिन्छ । यसले विभिन्न समूहबीचको असमानतालाई सम्बोधन गर्न आर्थिक वृद्धिको गणितमा मात्र भर परेर पहिचानलाई बेवास्ता गर्ने नीतिगत दृष्टिकोणको पुनर्मूल्यांकन गर्नुपर्ने आवश्यकतालाई जोड दिन्छ ।
गोल्डिनको अवधारणा पनि आलोचनाबाट मुक्त छैन । पहिलो, धेरै नोबेल विजेता आर्थिक सिद्धान्तकारले झैँ गोल्डिन पनि मूलतः अमेरिकी र उच्च आय भएका मुलुककेन्द्रित छिन् अर्थात् विश्वव्यापी दक्षिणी गोलार्धमा गोल्डिनको अवधारणा कमै लागू हुन्छ । उसो त भारत आर्थिक वृद्धि देखिए पनि विकसित राष्ट्रका तुलनामा महिला श्रमशक्तिको सहभागिता अस्वाभाविक रूपमा कम छ । श्रमबजारमा महिलाको प्रवेश प्रायः घरेलु आर्थिक संकटपछि हुने गर्छ ।
नतिजा महिला श्रमिकले न्यून तलब पाउँछन् र तिनको रोजगारीमा अनिश्चितता देखिन्छ । यो अवस्थाले महिलामाथि दोहोरो बोझ निम्त्याउँछ, अर्थात् अस्थिर एवं न्यून पारिश्रमिक भएको रोजगारी र त्यसमाथि सामाजिक हेरचाह संस्थाको अभाव हुने अवस्थामा घरपरिवारको हेरचाहको जिम्मेवारी पनि सम्हाल्नुपर्ने हुन्छ । यसबाहेक भारतीय सन्दर्भमा कृषिबाट सहरी उद्योगमा हुने संक्रमणले महिलाको दोहोरो बोझलाई बढाउन सक्छ, किनभने विभिन्न अनुसन्धानले सहरी क्षेत्रमा पर्याप्त सामाजिक हेरचाह संस्थाको अभाव देखिन्छ, नतिजा चुनौती बढ्छ । आलोचनात्मक कोणबाट विश्लेषण गर्ने विद्वान्ले व्यापक रूपमा बहस गर्ने घरपरिवारमा गरिने हेरचाह श्रमको मूल्यांकनका मामिलामा गोल्डिनको अवधारणाले उचित ढंगले सम्बोधन गर्दैन ।
दोस्रो जात, वर्गलगायत अन्य पक्षले महिलाका लागि उपलब्ध रोजगारीका अवसर र सम्झौता–मोलतोल गर्ने क्षमतालाई महŒवपूर्ण रूपमा असर गर्छ । गोल्डिनको अवधारणाले सामाजिक अन्तरसम्बद्धताको विश्लेषण गर्दैन र असमानताका विविध आयामले निम्त्याउने मामिलामा अपूरो बुझाइ मात्रै प्रदान गर्न सक्छ । अन्त्यमा गोल्डिनको अनुसन्धानले श्रमबजारको नतिजाको हाम्रो बुझाइ वृद्धि गर्न सामाजिक मूल्य–मान्यता, हेरचाह जिम्मेवारी र घरभित्रको गतिशीलतालगायत अवयवलाई लिएर विभिन्न विधाका अन्तर्दृष्टि समावेश गरेको छ । तथापि उनको अवधारणामा महिला सशक्तीकरणको विश्लेषणमा पितृसत्तात्मक सामाजिक व्यवस्था निम्त्याउने आर्थिक व्यवस्थाको आलोचनात्मक मूल्यांकन समावेश भएको देखिँदैन ।
यी आलोचनाका बाबजुद गोल्डिनको कामले एक महत्वपूर्ण योगदान दिएको छ । उनको शोधले श्रमबजार गतिशीलता कसरी पहिचानका कारण प्रभावित हुन्छ भन्ने देखाएको छ । उनको अवधारणाले मूलधारको अर्थशास्त्र र नीति–निर्माणमा श्रमबजार गतिशीलतामा लामो समयदेखि भइरहेको निरीक्षणलाई चुनौती दिन्छ । नोबेल पुरस्कारले उनको व्यापक अनुसन्धानलाई स्वीकार मात्र गर्दैन, यसले पहिले बेवास्ता गरिएका विषयको अर्थशास्त्रलाई ढिलै भए पनि मान्यता दिन्छ ।
(अब्रहाम अजिम प्रेमजी विश्वविद्यालयकी अर्थशास्त्रकी उपप्राध्यापक हुन् र केसर सोएअस लन्डन विश्वविद्यालयकी अर्थशास्त्रकी अध्यापक हुन्) हिन्दुस्तान टाइम्सबाट