चाडपर्वको माहोल बन्दै जाँदा गाउँघर तथा सहरबजारमा चहलपहल सुरु हुन्छ । बिदेसिएकाहरू घर फर्कन्छन् । सामाजिक गतिविधि बढ्दै जान्छन् । दसैँमा लामो बिदा हुने भएकाले सांस्कृतिक कार्यक्रम तथा कन्सर्ट पनि अन्य समयको तुलनामा ज्यादा हुने गर्छ । त्यही कारण लोकगीतका पारखीले यस समयलाई विशेष रूपमा लिने गरेको चर्चित दोहोरीगायक प्रेम विवश घर्ती बताउँछन् ।
‘गाउँघरका पीडा, व्यथा, प्रेम र संवदेना लोकदोहोरीमार्फत अभिव्यक्त हुने भएकाले पनि यो मौलिक संगीत धेरै नेपालीको रोजाइमा पर्ने गर्छ । हुन त आजकल मोबाइलमै धेरैले गीत सुन्ने र हेर्ने गरेका छन् । सामाजिक सञ्जालमा जोडिएर अनलाइनमै दोहोरी पनि खेल्छन्,’ घर्ती भन्छन्, ‘तर पनि प्रत्यक्ष लोकगीत सुन्नुको मज्जा नै बेग्लै छ । अन्य समयभन्दा चाडपर्वमा यसको माहोल बन्ने गर्छ, किनकि चाडपर्वमा बिदा हुने भएकाले धेरै मानिस यस्ता कार्यक्रममा सहभागी हुन्छन् ।’
गायक–गायिकाले मौलिक लयमा तत्कालै शब्द हालेर लोकदोहोरी फुराउने र फर्काउने हुनाले सुन्नेलाई पनि मज्जा आउने उनी बताउँछन् । ‘बाँसुरी, मादल, सारंगीलगायत हाम्रा मौलिक बाजाहरूको धुनले मानिसलाई फ्रेस बनाउँछ,’ झन्डै दुई दशकदेखि लोकदोहोरीमा सक्रिय गायक घर्तीले भने, ‘त्यही कारण दोहोरीको माग स्वदेश तथा विदेशमा बढ्दो छ ।’ दर्जनौँ लोकगीतमा स्वर दिइसकेका उनले दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड २०७८, दोस्रो विशाल लुम्बिनी लोकदोहोरी म्युजिक अवार्ड, सर्वोत्कृष्ट पर्वगीत गायक २०७९ लगायत विभिन्न अवार्ड जितिसकेका छन् ।