एमाले अध्यक्ष केपी ओलीले पार्टीको सुदूरपश्चिम प्रदेश नेतृत्व सहमति नै चयन गर्न निर्देशन दिएका छन् । प्रदेशको पहिलो अधिवेशनको आइतबार धनगढीमा उद्घाटन गर्दै उनले पार्टी एकताको सन्देश दिने गरी सहमतिमा नयाँ नेतृत्व चयन गर्न नेता र कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
प्रदेशमा नेतृत्व चयनमा भएका चुनावी प्रतिस्पर्धालाई लिएर एमालेमाथि आक्रमण बढेको उल्लेख गर्दै उनले यो अधिवेशनबाट एकताको सन्देश दिनुपर्ने बताए । नेतृत्वले प्रतिस्पर्धाका लागि लचकता अपनाउँदा कतिपय प्रदेशमा अस्वस्थ प्रतिस्पर्धा देखिएको उनको भनाइ थियो । ‘कहीँ पनि सहमति हुन सकेन भनेर हुइँया मच्चाइएको छ । हामीले पनि सहमति गर्न धेरै कोसिस गरेनौँ, लड्छन् भने लड्न दिउँ न साथीहरू भनेर । त्यसको धेरै दुरुपयोग भयो कतिपय प्रदेशमा,’ अध्यक्ष ओलीले भने, ‘हाम्रो पार्टीविरुद्ध ठूलो हमला छ, त्यसलाई चिर्न सिंगो पार्टी पंक्ति गोलबन्द भएर जानुपर्छ ।’
नेतृत्वले गरेको मूल्यांकनलाई बुझेर छलफलबाट प्रदेशको नेतृत्व छान्न उनले सुदूरपश्चिममा रहेका केन्द्रीय नेताहरूलाई निर्देशन दिए । उनले आफ्नै उम्मेदवार मात्र नेतृत्वमा आउनुपर्छ भन्ने जिद्दी नगर्न पनि नेताहरूलाई सचेत गराए । नेतृत्व छान्दा भौगोलिक सन्तुलन मिलाउन र पदाधिकारीमा एकजना महिला अनिवार्य छान्न पनि अध्यक्ष ओलीले निर्देशन दिएका छन् ।
महासचिव शंकर पोखरेलले आफ्ना आकांक्षालाई पार्टीको हितविपरीत प्रयोग नगर्न नेतृत्वका आकांक्षीलाई आग्रह गरे । ‘सहमति भए आन्तरिक लोकतन्त्रको मुद्दा उठाउने र चुनाव भए नेतृत्वलाई टेरेन भन्ने हल्ला फैलाइएको छ,’ उनले भने, ‘एकताबद्ध भएर पार्टी नेतृत्वलाई बलियो बनाउन आग्रह गर्छु ।’
अध्यक्षमा तीन प्रतिस्पर्धी
एमालेको प्रदेश अध्यक्षका लागि तीनजनाले दाबी प्रस्तुत गरेका छन् । अहिलेको प्रदेश समितिका उपाध्यक्ष कमल तिमिल्सिना तथा प्रदेश कमिटी सचिवालय सदस्यद्वय कृष्णप्रसाद जैसी र वचनबहादुर सिंहले दाबी प्रस्तुत गरेका हुन् । तीनैजना आ–आफ्नो टिम निर्माणमा जुटेका छन् । अध्यक्ष ओलीले काठमाडौं फर्कनुअघि तीनैजना उम्मेदवारसँग सामूहिक छलफल गरेका थिए । छलफलमा उनले मिलेर जान निर्देशन दिएका बताइएको छ ।
सहमतिको प्रयासका लागि महासचिव पोखरेल धनगढीमै बसेका छन् । सहमतिमा नेतृत्व चयन गर्ने भन्दै उनले प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय पदाधिकारी, स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेका छन् । ‘उम्मेदवारहरू भित्रभित्रै टिम निर्माणमा जुटेका छन् । सहमतिको प्रयास भइरहेकाले टिम बाहिर आइसकेको छैन,’ एमालेका एक नेताले भने, ‘प्रदेश नेतृत्वलाई लिएर यहाँका केन्द्रीय नेताहरू नै विभाजित भएकाले सहमति नै होला भन्न सकिन्न ।’
चुनाव हुने अवस्था आए जैसी र तिमिल्सिनाबीच प्रतिस्पर्धा हुने सम्भावना छ । दुवैजना लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय छन् । यहाँका शीर्ष नेताहरू दुवै उम्मेदवारको पक्षमा विभाजित देखिएका छन् । सहमति भनिए पनि तिमिल्सिनालाई महासचिव पोखरेलको समर्थन रहेको एमाले स्रोतले जनाएको छ । ‘अध्यक्षले पनि त्यही संकेत गरेर जानुभएको छ,’ एक नेताले भने, ‘भोलिसम्म सहमति नभए चुनावी प्रक्रिया सुरु हुन्छ ।’
तिमिल्सिनालाई सचिव लेखराज भट्ट, हालका प्रदेश अध्यक्ष दामोदर भण्डारी, लालबहादुर थापालगायत नेताको समर्थन रहेको बताइएको छ । स्थायी समिति सदस्य कर्ण थापा, पोलिटब्युरो सदस्य निरुदेवी पाल, नारदमुनी रानालगायतको समर्थन रहेको छ ।
इजरायलमा फसेका नेपालीको उद्धारमा सरकारले बेवास्ता गर्यो
अधिवेशन उद्घाटनमा अध्यक्ष ओलीले इजरायलमा रहेका नेपालीको उद्धार र खोजबिनमा सरकारले चासो नदेखाएको आरोप लगाए । उनले इजरायलमा नेपाली मारिएको सन्दर्भमा सरकार कहाँ छ भन्ने प्रश्न गरे । अफगानिस्तानमा हिंसा हुँदा विगतमा आफ्नो सरकारले मृत्यु भएका नेपालीको शव र घाइतेलाई ल्याउने काम तत्कालै गरेको दाबी गर्दै उनले अहिले इजराजयमा भएको घटनामा सरकार हराएको आरोप लगाए ।
‘अफगानिस्तानमा मान्छे मारिँदा, मान्छे घाइते हुँदा, त्रासदीको परिस्थिति हुँदा हामीले सोझै विमान पठाएर मारिएका मानिसका शवदेखि घाइते र आउन चाहने अरूलाई ल्याउने काम तत्काल गरेका थियौँ,’ ओलीले भने, ‘अहिले देशमा सरकार छ कि छैन ?’ उनले कृषि पढ्न इजरायल गएका सातजना नेपाली विद्यार्थीको त्यहाँको द्वन्द्वमा परेर निधन भएको घटनाप्रति दुःख व्यक्त गरे ।
सरकारका कारण देश अप्ठ्यारोमा
दुई वर्ष गठबन्धनको सरकार हुँदा मुलुक अहिले अप्ठ्यारोमा रहेको र थप अप्ठ्यारोमा गइरहेको ओलीको भनाइ थियो । ‘एमालेले सरकार छाडेको दुई वर्षमै देश ओरालो लागेको छ,’ उनले भने, ‘देशको अर्थतन्त्र ध्वस्त भयो, अराजकता बढेको छ, जनताको जीवनस्तर झन् कमजोर भएको छ ।’
देश अप्ठ्यारोमा रहेका वेला प्रधानमन्त्री विदेशको तीर्थाटनमा गएर आएको उनले टिप्पणी गरे । प्रधानमन्त्रीको विदेश भ्रमण घुमफिर गर्ने र स्वागत लिनेबाहेक अन्य उपलब्धिपूर्ण नरहेको उनको दाबी छ । ‘प्रधानमन्त्री दुई धाम जानुभयो, अमेरिकी धाम र चाइना धाम । दुई धाम गएर उहाँले देशका लागि के गर्नुभयो,’ ओलीले भने, ‘देशको माया नभएपछि मानसरोवरमा डुबुल्की लगाएर केही हुँदैन ।’ भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले सिमाना, इपिजीको प्रतिवदेनलगायत मुलुकका लागि महत्वपूर्ण कुनै विषय उठाउन नसकेको ओलीले आरोप लगाए ।
सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको नारा दिए पनि सरकारकै संरक्षणमा भ्रष्टाचार भइरहेको आरोप लगाए । सुन तस्करी, ललितानिवासलगायत भ्रष्टाचारका कुनै पनि काण्डमा सरकारले मुद्दा चलाउन नसकेको उनको भनाइ छ । ‘सरकारले अहिलेसम्म भ्रष्टाचारमा कुन मुद्दा चलाएको छ, ललितानिवासमा जग्गा आफ्नो बनाउनेलाई होइन किन्नेलाई मुद्दा चलाइएको छ,’ उनले भने, ‘सुन तस्करीको अहिलेसम्म छानबिनै हुन सकेको छैन ।’ माओवादी उपाध्यक्ष कृष्णबहादुर महराप्रति लक्षित गर्दै उनले सुन तस्करलाई दुई सय ९४ पटक फोन गर्नेलाई सरकारले उन्मुक्ति दिएको आरोप लगाए ।
सञ्चारमाध्यमप्रति आक्रोश
सरकारका गलत कामप्रति मौन रहेको आरोप लगाउँदै ओली सञ्चारमाध्यममाथि पनि खनिए । सरकारको ‘दानापानी’ खाएर सञ्चारमाध्यम चुपचाप बसेको उनले आरोप लगाए । ‘एकजनाले एउटालाई दुई सय ९४ पटक फोन गर्छ, सरकार अझै भन्छ भ्रष्टाचारविरोधी अभियान चलाइरहेका छौँ । सरकारको दानापानी खाएर सञ्चारमाध्यमहरू चुपचाप छन्, एमालेको पालामा कहिले यती, कहिले ओम्नी भनेर कराउँथे,’ उनले भने । ओली बोलिरहँदा केही प्रतिनिधिले सहभागी दीर्घाबाट भीम रावल खोइ भनेर प्रश्न गरेका थिए । सहभागीले भीम रावल खोइ भनेपछि ओलीले चुप लाग्न निर्देशन दिएका थिए ।
एमाले विशेष प्रदेश अध्यक्षमा पराजुली सर्वसम्मत
एमाले उपत्यका विशेष प्रदेशको अध्यक्षमा प्रेमकुमार पराजुली निर्वाचित भएका छन् । शनिबार सम्पन्न विशेष प्रदेशको प्रथम अधिवेशनले पराजुलीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल, उपसचिवमा उर्मिला सुनुवार र जितेन्द्र श्रेष्ठ चयन भएका छन् ।
अध्यक्षमा उम्मेदवारी दिएका चन्द्र रिजाल र सचिवमा उम्मेदवारी दिएका चिरञ्जीवी पौडेलले उम्मेदवारी फिर्ता लिएपछि अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो । विशेष प्रदेश कमिटी ९५ सदस्यीय निर्वाचित भएको छ ।
पदाधिकारीबाहेक सदस्यहरू पनि सर्वसम्मत चयन भएका छन् । अहिलेसम्म एमालेको ६ वटा प्रदेश अधिवेशन सम्पन्न हुँदा उपत्यका विशेष प्रदेशको अधिवेशनले मात्रै नेतृत्व सर्वसम्मत चयन भएको छ । अन्य प्रदेशमा भने दुईवटै प्यानल प्रतिस्पर्धाबाट नेतृत्व चयन भएका थिए । अधिवेशनको उद्घाटन राष्ट्रिय सभागृहमा भएको थियो । पार्टी अध्यक्ष केपी ओलीले गत शुक्रबार अधिवेशन उद्घाटन गरेका थिए । उनले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए ।