धनुषाको जनकपुरधाम उपमहानगरपालिका– ९ रामानन्द चोकमा रहेको रामबाबु रायको ‘जनकपुर बिग मार्ट’मा गएराति भीषण आगलागी भएकाे छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राति सवा १ बजे बिजुली सर्ट भएर लागेको आगो सात घन्टापछि बिहान करिब ७ः१५ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो। आगलागी भएको करिब आधा घन्टामै बारुणयन्त्र घटनास्थलमा पुगे पनि मार्टमा लुगाकपडा धेरै भएकाले नियन्त्रणमा लिन कठिन भएको थियो।
सञ्चालक रामबाबु रायले मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको र तीनतले घरमा समेत क्षति पुगेकाले रु. १० करोडभन्दा बढीको सम्पत्ति क्षति भएको जानकारी दिए। उनले मार्टको दोस्रो तल्लामा परिवारसहित बसोवास रहेकामा वैकल्पिक बाटोका कारण भागेर ज्यान जोगाउन सकिएको बताए।
‘क्षणभरमै जल्यो सम्पत्ति’
सर्लाहीको मलंगवा नगरपालिका– ११ स्थायी ठेगाना भएका राय विगत २५ वर्षदेखि व्यापारिक कारोबारमा संलग्न छन्। सुरुमा उनले काठमाडौंमा ‘डोर टु डोर’ अर्थात घरघरमा गएर सामान बेच्ने काम गरेका थिए। र पछि अरूकै पसलमा बजार व्यवस्थापकका रूपमा काम गरे।
सर्लाहीबाट झोला भिरेर काठमाडौं छिरेका रायले केही समय अरूको पसलमा काम गर्न सिकेपछि आफ्नै व्यापार सुरु गरे। “म शून्य लगानीबाट उठेको मान्छे हो । सुरुमा काठमाडौंका घरघरमा गएर सामान बेचेँ । त्यसपछि काठमाडौंबाहिर जिल्ला–जिल्लामा गएँ । त्यसबाट केही पैसा आर्जन गरेपछि सानो पसल, होलसेल, रिटेल र डिपार्टमेन्ट स्टोरसम्म पुगेँ,’ भावविह्वल हुँदै रायले भने, ‘तर, २५ वर्षसम्म गरेको मिहिनेत र लगानी एकै रातमा सखाप भयो। झोला बोकेर घरबाट निस्केको थिएँ, अहिले फेरि झोला मात्रै बोकेर सडकमा आएँ।’
व्यापारमा संलग्न भएको २५ वर्षमध्ये करिब १५–१६ वर्ष उनले काठमाडंको न्युरोडस्थित रञ्जनाहाउस र महाबौद्धबाट व्यापार गरेका थिए।
०७२ को गोर्खा भूकम्पपछि व्यापारमा मन्दी भएपछि जनकपुर फर्किएका रायले यहाँ रामानन्द चोकनजिकै कपडा व्यापार सुरु गरे। छोटो समयमा व्यापार राम्रो हुँदै गएपछि आफ्ना सबै व्यापार बन्द गरेर रायले सम्पूर्ण लगानी हाल डिपार्टमेन्ट स्टोरसमेत रहेको घरमा लगानी गरे।
रायले यही व्यापारलाई बढाउन काठमाडौंको थानकोटमा रहेको चारआना जग्गा, लज र अरू सबै जायजेथा बेच्नुका साथै सिद्धार्थ बैंक शाखा जनकपुरबाट रु. तीन करोड ६५ लाख ऋण लिएको बताए।
‘पीडामाथि पीडा’
रायलाई व्यापारमा हिम्मत गर्न सघाउने उनीकी श्रीमती थिइन्। उनले बाहिर र श्रीमतीले पसल सम्हाल्ने काम गरिरहेका थिए। रायले आफ्नो पीडा सुनाउँदै भने, ‘घरबार राम्रै चलिरहेको थियो, श्रीमतीले यो सबै हिम्मत दिएकी हुन्, तर डेढ वर्षअघि अचानक श्रीमतीको दुईवटै किड्नी फेल भयो । त्यसपछि हाम्रो दुःखका दिन सुरु भए । आठ दिनअघि मात्रै श्रीमतीको उपचार भएको थियो । अब त केही सहज होला भनेको फेरि यो बज्रपात आइलाग्यो।’
जनकपुरमा केही वर्षदेखि सबै क्षेत्रका व्यापारमा मन्दी छ। दसैँ आएपछि केही भए पनि राहत होला भन्ने आशामा उनले नयाँ सामान ल्याएका थिए। तर, उनको मिहिनेत र सपना एकै रातमा खरानी बन्यो। उनले बैंकबाट ऋण लिँदा गरिने बिमाबाहेक सामानको बिमासमेत नगरेको बताए।
‘जायजेथा बेचेर लगानी बढाएँ । २५ वर्ष पसिना बगाएँ । काठमाडौंबाट भूकम्पले विस्थापित गर्याे, फेरि उठ्न खोज्दै थिएँ। जनकपुरले त उठीबास नै लगायो, अब कहाँ जाने, कसरी उठ्ने ?’ रायले निराशा पोखे। रासस