इरानी अधिकारकर्मी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार

शनिबार, २० असोज, २०८०
डिजिटल संस्करण

पछिल्लोपटक २०२१ मा पक्राउ परेकी नर्गिस मोहम्मदी ‘राज्यविरोधी दुष्प्रचार गरेको’ अभियोगमा जेलमा छिन्

जेलमा रहेकी इरानी अधिकारकर्मी नर्गिस मोहम्मदीले यस वर्षको नोबेल शान्ति पुरस्कार पाएकी छिन् । पटक–पटक जेल परेकी उनी पछिल्लोपटक सन् २०२१ को नोभेम्बरमा पक्राउ परेकी थिइन् । उनलाई ‘राज्यविरोधी दुष्प्रचार गरेको’ अभियोगमा १२ वर्ष जेल सजाय सुनाइएको छ ।

शुक्रबार आयोजित एक कार्यक्रममा रोयल स्विडिस एकेडेमीले नर्गिसलाई सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता घोषणा गरेको हो । ‘इरानमा महिला उत्पीडनविरुद्धको संघर्ष र सबैका लागि मानव अधिकार र स्वतन्त्रताका लागि उनले गरेको पहलका लागि मोहम्मदीलाई सम्मान गरिएको,’ ओस्लोस्थित नर्वेजियन नोबेल कमिटीका प्रमुख बेरिट रेस–एन्डरसनले जनाएका छन् । आगामी १० डिसेम्बरमा एक विशेष समारोहबीच उनलाई पुरस्कार प्रदान गरिनेछ । 

नर्गिस हाल तेहरानको कुख्यात इभिन जेलमा सजाय भोगिरहेकी छिन् । नोबेल कमिटीले इरानले उनलाई छिट्टै रिहा गर्ने आशासमेत व्यक्त गरेको छ । तर, स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका ड्यान स्मिथले उनको रिहाइको सम्भावना न्यून रहेको बताएका छन् ।

प्रहरी हिरासतमै मृत्यु भएकी एक युवतीको विरोधमा महिलाहरूको नेतृत्वमा एक वर्षभन्दा लामो समयदेखि देशभर सरकारविरोधी प्रदर्शन भइरहेका वेला नर्गिसले पुरस्कार पाएकी हुन् । उनको परिवारले यो पुरस्कार ‘इरानको स्वतन्त्रताको लडाइँका लागि ऐतिहासिक र गहिरो क्षण’ भएको बताएको छ । ‘पुरस्कारले मानव अधिकारका लागि नरगेसको लडाइँलाई हौसला दिनेछ,’ नर्गिसका पति तागी रहमानीको भनाइ उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

नर्गिस नोबेल शान्ति पुरस्कार जित्ने १९औँ महिला हुन् । यो पुरस्कार विजेताले एक करोड १० लाख स्विडिस क्रोनर र पदक प्राप्त गर्छ । नर्गिस यस वर्ष बिबिसीको विश्वभरका सय प्रेरणादायी र प्रभावशाली महिलाको उच्च प्रोफाइल सूचीमा समेत परेकी थिइन् । सन् १९०१ मा पहिलोपटक नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

जेलबाटै दुर्व्यवहारका घटनाको विवरण सार्वजनिक 
कारागारमा रहे पनि नर्गिसलाई आफ्नो देशमा महिलामाथि हुने दुर्व्यवहारबारे बोल्न रोकेको छैन । बिबिसीका अनुसार गत डिसेम्बरमा उनले सरकारविरोधी प्रदर्शनका क्रममा हिरासतमा परेका महिलालाई यौन र शारीरिक दुर्व्यवहार भइरहेको पत्रमार्फत जानकारी दिएकी थिइन् ।

उनी अन्य कार्यकर्ता र बन्दी महिलाका परिवारमार्फत बाहिरी संसारसँग कुराकानी गर्न सक्षम भएकी थिइन् । त्यतिखेर नर्गिसले एक प्रसिद्ध कार्यकर्तालाई हात र खुट्टा हुकमा बाँधेर गाडीमा जेलमा लगिएको र त्यसपछि सुरक्षा अधिकारीले यौन दुर्व्यवहार गरेको जानकारी दिएकी थिइन् । 

नर्गिसका अनुसार दुर्व्यवहारको रिपोर्ट गर्दा हिरासतमा रहेका महिलाका परिवारलाई धम्की आउन सक्छ, तर यसलाई रोक्नका लागि के भइरहेको छ भनेर खुलासा गर्न आवश्यक छ । तर, इरानको राज्य प्रशासनले महिला प्रदर्शनकारीविरुद्ध बलात्कार र सुरक्षा बल प्रयोग गरेको रिपोर्टलाई अस्वीकार गरेको छ ।

‘मोहम्मदीको सम्मानले इरानी महिलाको साहस उजागर’
मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले मोहम्मदीलाई प्रदान गरिएको नोबेल शान्ति पुरस्कारले इरानी महिलाको साहस र दृढतालाई उजागर गरेको जनाएको छ । एजेन्सीकी प्रवक्ता एलिजाबेथ थ्रोसेलले भनिन्, ‘हामीले प्रतिशोध, धम्की, हिंसा र हिरासतमा उनीहरूको साहस र दृढता देखेका छौँ ।’

गत वर्ष यो पुरस्कार रुसी मानव अधिकार समूह मेमोरियल, युक्रेनको सेन्टर फर सिभिल लिबर्टिज र जेलमा रहेका बेलारुसी अधिकारकर्मी एलेस बिलियात्स्कीलाई दिइएको थियो । उनीहरूलाई युक्रेनमा जारी रुसी आक्रमणको पृष्ठभूमिमा ‘शान्तिको प्रवर्द्धन’का लागि संयुक्त रूपमा दिइएको थियो । 

को हुन् मोहम्मदी ?
इरानको जन्जनमा १९७२ मा जन्मिएकी हुन् नर्गिस मोहम्मदी । हाल तेहरानको इभिन कारागारमा रहेकी उनी इरानी लेखक र मानव अधिकार कार्यकर्तासँगै डिफेन्डर्स अफ ह्युमन राइट्स सेन्टर (डिएचआरसी)की उपनिर्देशक हुन् । 

नर्गिस अहिलेसम्म १३ पटक पक्राउ परिसकेकी छिन् । पाँचपटक त दोषी नै ठहर गरिएको छ र कुल ३१ वर्षको जेल सजाय सुनाइएको छ । पछिल्लोपटक उनी सन् २०२१ को नोभेम्बरमा पक्राउ परेकी थिइन् । उनका पति (राजनीतिक कार्यकर्ता) तागी रहमानी आफ्ना दुई सन्तानसँगै हाल पेरिसमा निर्वासनमा छन् । उनीहरूले वर्षौँदेखि एक–अर्कालाई देखेका छैनन् ।

अलजजिराका अनुसार नर्गिस हाल ‘राज्यविरोधी प्रचार फैलाएको’ अभियोगमा १२ वर्षको जेल सजाय भोग्दै छिन् । यही अभियोगमा उनलाई एक सय ५४ कोर्राको सजाय पनि सुनाइएको थियो । एक दशकदेखि उनी जेलभित्र र बाहिर छिन् । इरानमा प्रहरी हिरासतमै मृत्यु भएकी महसा अमिनीको विरोध प्रदर्शनपछि नर्गिसले एभिन जेलमा एक महिलाका रूपमा दुर्व्यवहारको अनुभव गरेको बताइएको छ । 

एजेन्सीहरूकाे सहयाेगमा

सुझावित समाचार