एभरेष्ट बैंकको अगुवाइमा कजारिया रमेश टायल्सलाई सहवित्तीयकरण कर्जा

वार्षिक ८० लाख वर्गमिटर टायल्स उत्पादन क्षमताको उद्योग खुल्ने

शुक्रबार, १९ असोज, २०८०
डिजिटल संस्करण

एभरेष्ट बैंक लिमिटेडको अगुवाइमा विभिन्न बैंक मिलेर कजारिया रमेश टायल्स लिमिटेडमा लगानी गर्ने भएका छन् । सहवित्तीयकरणअन्तर्गत एभरेष्टसँगै नबिल बैंक, नेपाल एसबिआई बैंक र प्रभु बैंकले लगानी गर्ने भएका हुन् । लगानीसम्बन्धी सम्झौतामा अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा रमेश कर्पका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताले हस्ताक्षर गरेको जनाइएको छ । कार्यक्रममा सहवित्तीयकरणका अन्य सदस्य बैंकका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको उल्लेख छ । 

नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सको कुल लागत चार अर्ब रुपैयाँमध्ये सहवित्तीयकरणअन्तर्गत तीन अर्ब रुपैयाँ लगानी हुने बैंकले जनाएको छ । विश्वको सातौँ ठूलो टायल्स उत्पादन कम्पनी दाबी गरिएको भारतको कजारिया सेरामिक्सको ५०: ५० को संयुक्त लगानी रहेको कजारिया रमेश टायल्सले नेपालमा आधुनिक उपकरण प्रयोग गरी गुणस्तरीय टायल्स तथा सेरामिक्सका अन्य उत्पादन अन्तर्राष्ट्रिय मापदण्डबमोजिम गुणस्तरीय हुने जनाइएको छ ।

नेपाललाई भिट्रिफाइड टाइल्स र सेरामिक उत्पादनमा आत्मनिर्भर बनाउने दूरदर्शी प्रतिबद्धताका साथ कजारिया रमेश टाइल्सले नेपालमा टाइल उत्पादनका लागि ग्रिनफिल्ड परियोजना सुरु गरेको जनाइएको छ । नवलपरासी क्षेत्रमा अवस्थित अत्याधुनिक उत्पादन उद्योग ८० लाख वर्गमिटरको उत्पादन क्षमता भएको नेपालको सबैभन्दा ठूलो टाइल कम्पनी हुने उल्लेख छ । करिब ६ महिनापछि सुरुवात हुने उक्त परियोजनाले देशमा हुने टायल्सको माग पूरा गरी आयात प्रतिस्थापन गर्नेमा महत्वपूर्ण योगदान गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ । 

एभरेष्ट बैंकले हाल देशभरमा एक सय २७ शाखा, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, एक सय ६२ एटिएम तथा ३२ राजस्व संकलन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार