डेंगुबाट एकै दिन तनहुँका दुई बालबालिकाको मृत्यु

बुधबार, १० असोज, २०८०
डिजिटल संस्करण

दमौली बजार डेंगुको हटस्पट, असारयता मात्र तनहुँमा चारजनाको मृत्यु

डेंगु संक्रमणबाट एकै दिन तनहुँका दुई बालबालिकाको पोखरामा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार ज्यान गुमाउनेमा व्यास नगरपालिका– २ की १४ वर्षीया बालिका र भानु नगरपालिका– १२ का पाँच वर्षीय बालक रहेका छन् । पाँच वर्षीय बालकलाई ज्वरो आएपछि दुई दिन दमौलीको रत्नहरि अस्पतालमा उपचार गरिएको थियो ।

तर, निको नभएपछि पोखरास्थित गण्डकी अस्पतालमा लगिएकोमा उपचारका क्रममा ज्यान गएको हो । १४ वर्षीया बालिकाको पनि दमौलीको निजी क्लिनिकमा उपचार गरिएकोमा थप उपचारका लागि पोखराको चरक मेमोरियल अस्पतालमा लगिएको थियो । डेंगुका कारण तनहुँमा असारयता मात्र चारजनाको ज्यान गइसकेको छ । यसअघि १६ असारमा व्यास– १० का ३५ वर्षीय पुरुष र २ असोजमा व्यास– ११ का १५ वर्षीय किशोरको ज्यान गएको थियो । 

तनहुँमा डेंगु संक्रमितको संख्या एक हजार नौ सय ९४ पुगेको छ । जसमध्ये व्यास नगरपालिकामा एक हजार ६ सय ५० रहेको जिल्ला स्वास्थ प्रमुख शंकरबाबु अधिकारीले बताए । पछिल्लो समय दमौली बजार डेंगुको हटस्पट बन्दै गएको छ । तनहुँमा ५ भदौदेखि डेंगु संक्रमण अझ बढी फैलिएको हो । दमौली बजार र आसपासका क्षेत्रमा संक्रमण बढी छ,’ उनले भने । अस्पतालमा आउने बिरामीको परीक्षण गराउँदा अधिकांशमा डेंगु पजिटिभ भेटिएको दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बरालले बताए ।

स्वास्थ्यकर्मीको टोली दमौली आउँदै
डेंगु संक्रमण फैलिएपछि काठमाडौं र पोखराबाट दमौलीमा चिकित्सकसहित स्वास्थ्यकर्मीकोे टोली आज आउने भएका छन् । दमौलीमा लार्भा खोजेर नष्ट गर्ने अभियान चलाए पनि प्रभावकारी बन्न सकेको छैन । एकै दिन दुई बालबालिकाको ज्यान गएपछि मंगलबार जिल्ला समन्वय समितिको आह्वानमा सर्वदलीय बैठक बसेको छ । सहभागीले तत्कालै समस्या समाधानमा जुट्न सबैलाई आग्रह गरेका छन् ।
 

See More On

सुझावित समाचार