रैथाने बालीको उत्पादन घट्दै गएकाे किसानको गुनासो

मंगलबार, ९ असोज, २०८०
डिजिटल संस्करण

किसानले रैथाने बालीको उत्पादन घटेको गुनासो गरेका छन्।कृषि उत्पादन र उत्पादकत्वमा जलवायु परिवर्तनका चुनौती, अवसरहरू र सरोकारवालाको भूमिका विषयक गाउँपालिकास्तरीय बहस कार्यक्रममा सहभागी किसानले यस्तो गुनासो गरेका हुन्।

बहसमा भाग लिँदै खार्पुनाथ गाउँपालिका– ३ की महिला कृषक लालकोसा रावलले पुराना रैथाने बालीहरू कोदो, फापर, चिनो र कागुनो बालीको उत्पादन घटेको बताइन्। उनका अनुसार उही जग्गामा पहिले अन्नबाली राम्रो उत्पादन हुने गरेको भए पनि अहिले भने उत्पादन घटेको छ।

खार्पुनाथ गाउँपालिका– ५ की अर्की किसान ललिता शाहीले पुराना रैथाने बालीको रोग किरासमेत बढी लाग्ने गरेको बताउँदै उत्पादनसमेत घटेको बताइन्। यस्तै, किसान खड्कबहादुर शाहीले पहिले नपाक्ने बाली अहिले पाक्न थालेको सुनाए। 

कार्यक्रममा रैथाने बालीको उत्पादन घट्नुको कारण पत्ता लगाएर विकल्प खोज्न किसानले सम्बन्धित निकायलाई आग्रह गरेका छन्। रैथाने बालीको उत्पादन घट्नुको कारण जलवायु परिवर्तन मुख्य कारण हुन सक्ने बताउँदै गाउँपालिकाका कृषि शाखाका प्रमुख डिल्ली नेपालीले यसको अध्ययन गरिने बताए। उनले जलवायु अनुकूलन हुने बाली लगाउनुपर्ने आवश्यकता रहेको औँल्याए। 

See More On

सुझावित समाचार