नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई)ले संयुक्त रूपमा आयोजना गर्न लागेको नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा राष्ट्रिय वाणिज्य बैंक मुख्य प्रायोजक (टाइटल स्पोन्सर) बन्ने भएको छ । सन् २०१९ बाट सुरु भएको यो सम्मेलनको पहिलो र दोस्रो सिखर सम्मेलनमा पनि राष्ट्रिय वाणिज्य बैंक नै मुख्य प्रायोजक रहेको थियो ।
तेस्रो सिखर सम्मेलनको ३० भदौमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने जनाइएको छ । सम्मलेनको मूल नारा ‘युवा नवप्रवर्तन : लगानी र समृद्धि’ तय गरिएको छ । सम्मेलनल कोभिड–१९ र पछिल्लो वित्तीय चुनौतीको समाधान पहिल्याउन तथा युवा उद्यमशीलता प्रवद्र्धनका लागि लगानीका प्राथमिकता प्राप्त क्षेत्रको पहिचान गरी स्टार्टअप उद्यममा युवाहरूको आकर्षण बढाउन सफल हुने आयोजकको अपेक्षा छ । युवा उमेर समूहका उद्यमी बन्न चाहने युवाहरू, उद्यम गरिरहेका युवाहरू र स्टार्टअपमा लगानी गरिरहेका लगानीकर्ताबीचको उच्चस्तरीय नेटवर्किङ र लगानी सम्झौताका लागि र युवाहरूमा वित्तीय पहुँच, सरकारी नीति, कर नीति, स्टार्टअप प्रोगाम, स्टोरी सियरिङ, समूहगत छलफल, र स्टाटअर्प बिजनेसबारे युवा उद्यमीहरूको क्षमता अभिवृद्धि र उद्यमको वृत्ति विकासमा यो शिखर सम्मेलन महŒवपूर्ण हुने आयोजकले विश्वास व्यक्त गरेका छन् ।
सम्मेलनको मुख्य प्रायोजक बन्नेसम्बन्धी समझदारीपत्रमा सम्मेलन मूल आयोजक कमिटीका संयोजक विशाल गैरे र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेको बैंकले जनाएको छ । सम्मेलनमा संघीय सरकारका अर्थमन्त्री, उद्योगमन्त्री, सञ्चारमन्त्री, युवा तथा खेलकुदमन्त्री, योजना आयोगका उपाध्यक्ष, उद्यमीहरू डा. उपेन्द्र महतो, चन्द्रप्रसाद ढकाल, भवानी राणालगायत २० भन्दा बढी वक्ताले युवा उद्यमशीलताका बारेमा धारणा व्यक्त गर्ने कार्यक्रम रहेको छ ।
उद्यमी बन्न युवाहरूलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरूलाई सहजीकरण गर्ने, सरकारको नीति, कार्यक्रम र बजेट युवा उद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत समृद्धि हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० को निर्माण एवं कार्यान्वयनका लागि शिखर सम्मेलन उपलब्धिमूलक हुने आयोजक संस्था राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । हस्ताक्षर कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पछिल्लो वित्तीय चुनौतीको सामनाका लागि युवाहरूलाई आर्थिक क्रियाकलापमा सहभागी गराउँदै स्वदेशमै स्वरोजगारको वातावरण निर्माण गर्नुपर्ने बताए ।