ठमेल घुम्न आउने पर्यटकलाई ठाउँ पत्ता लगाउन अब सहज हुने भएको छ । पर्यटकको सहजताका लागि ठमेल पर्यटन विकास परिषद्ले ठमेल क्षेत्रका स्ट्रिट (गल्ली)मा नम्बर राख्न लागेको हो ।
परिषद्का अनुसार आगामी शुक्रबार सम्पन्न कार्यसमिति बैठकमा स्ट्रिट नम्बर राख्ने विषयमा छलफल र निर्णय हुनेछ । त्यसपछि ठमेल क्षेत्र पर्ने महानगरका चार वडामध्ये २६ नम्बर वडासँग छलफल गरेर निष्कर्षमा पुगिनेछ । ‘चार वर्ष भइसक्यो, यो क्षेत्रमा स्ट्रिट नम्बर राख्ने भनेको, तर अहिलेसम्म कार्यान्वयन भएन । यसपटक भने हामी निष्कर्षमै पुग्ने गरी काम गर्दै छौँ,’ ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवीश्वर शर्माले भने, ‘शुक्रबार कार्यसमितिको बैठक बसेर निर्णय गर्छौँ । पर्यटन बोर्डले पटक–पटक यो काम गर्छु भने पनि गर्न सकेन । अब बोर्डप्रति खासै विश्वास छैन । त्यसपछि हामीलाई २६ वडाले सहयोग गर्छाैँ भन्नुभएको छ । उहाँहरूसँग छलफल गरेर निष्कर्षमा पुग्छौँ ।’ उनका अनुसार वडाले पनि चित्तबुझ्दो जवाफ नदिए चन्दा उठाएर भए पनि स्ट्रिट नम्बर राखिनेछ । स्ट्रिट नम्बर राख्नका लागि यसअघि चारपटक बोर्डले बजेट छुट्याए पनि कार्यान्वयन भने हुन सकेको छैन । ठमेल क्षेत्र महानगरको वडा १६, १७ २६ र २७ वडाभित्र पर्छ । पछिल्लो समय २६ वडाले नम्बर राख्नका लागि चासो देखाएको छ ।
के हो स्ट्रिट नम्बर ?
स्ट्रिट नम्बरले पर्यटकलाई होटेल, रेस्टुरेन्ट, अफिस वा अन्य कुनै गन्तव्यमा सहजै पुग्ने गरी पहिचान दिन्छ । यसका लागि ठमेलका प्रत्येक गल्लीको पहिचान हुने गरी फरक–फरक नम्बर वा नाम दिइन्छ । कर्मचारी सञ्चय कोष रहेको भवनबाट स्ट्रिट नम्बर प्लेट राख्ने तयारी छ । यससँगै ठमेलमा सिसिटिभी, सडकबत्ती जडानसमेत गरिने परिषद्को तयारी छ । ठमेलमा ७५ वटा नम्बर प्लेट राखिनेछ । ‘ठमेलमा धेरै गल्ली छन् । नेपाल घुम्न आउने पर्यटकका लागि ठमेल मुख्य गन्तव्य भए पनि कति लोकेसन गुगलमा समेत पाइँदैन । जसले गर्दा सम्बन्धित क्षेत्रमा पुग्न पर्यटकलाई १० जनासँग सोध्नुपर्ने अवस्था छ । त्यसैले पर्यटकहरू सहजै गन्तव्यमा पुग्ने वातावरण बनाउन स्ट्रिट नम्बर अत्यावश्यक छ,’ शर्माले भने, ‘यसका लागि बोर्ड र वडासँग छलफल भइरहेको छ । जसले पहिला बजेट उपलब्ध गराउँछ, त्यही बजेटमार्फत नम्बर राख्छौँ । तर, यही वर्षभित्र काम सम्पन्न गर्छौँ ।’ उनका अनुसार नम्बर राख्न १५ लाख लाग्नेछ । जसले बनाए पनि अनुगमन भने परिषद्ले नै गर्नेछ । शर्माका अुनसार कोरोना महामारीपछि ठमेल आउने पर्यटकको संख्यामा वृद्धि भए पनि ठमेल व्यवस्थित गर्ने पाटो भने ओझेलमा छ । यसअघि पोखराको लेकसाइड क्षेत्रमा नम्बर प्लेट राखिसकिएको छ । जसले पर्यटकलाई लेकसाइड क्षेत्र घुम्न निकै सहज भएको छ ।
भवीश्वर शर्मा, अध्यक्ष, ठमेल पर्यटन विकास परिषद्
पर्यटकका लागि ठमेल मुख्य गन्तव्य भए पनि कतिपय यहाँका गल्लीको लोकेसन गुगल म्यापमा समेत पाइँदैन ।
जसले आवश्यक स्थानमा पुग्न पर्यटकहरू १० जनासँग सोधपुछ गर्छन् । पर्यटकहरू सहजै गन्तव्यमा पुग्ने वातावरण बनाउन स्ट्रिट नम्बर अत्यावश्यक छ ।
यसका लागि नेपालय पर्यटन बोर्ड र वडा कार्यालयसँग छलफल भइरहेको छ । जसले पहिला बजेट उपलब्ध गराउँछ, त्यही बजेटमार्फत नम्बर राख्छौँ । तर, यही वर्षभित्र काम सम्पन्न गर्छौँ ।