हाँडीगाउँ क्षेत्रमा अब ५० फिटभन्दा अग्ला घर बनाउन नपाइने

आइतबार, २४ भदौ, २०८०
डिजिटल संस्करण
हाँडीगाउँ क्षेत्रमा अब ५० फिटभन्दा अग्ला घर बनाउन नपाइने

हाँडीगाउँ गुरुयोजनामाथि छलफल गर्न आयोजित कार्यक्रममा सहभागी ।

हाँडीगाउँमा ५० फिटभन्दा अग्ला भवन बनाउन नपाइने भएको छ । हाँडीगाउँको सांस्कृतिक जीवन्तता बचाउन बनाइएको गुरुयोजनाअनुसार यस्तो व्यवस्था समेटिएको हो । अब ५० फिटभन्दा कम अग्ला भवन निर्माणका लागि लाग्ने नक्सा दस्तुरमा ९० प्रतिशतसम्म छुट दिइने काठमाडौं महानगरपालिकाले जनाएको छ । यस क्षेत्रलाई व्यवस्थित गर्न सांस्कृतिक, सामाजिक, वातावरणीय, पूर्वाधारलगायतका कोणबाट छलफलसमेत भएको थियो ।

आधुनिक सहरीकरणले सामाजिक अन्तक्र्रिया र सम्बन्धलाई कमजोर बनाउँदै लगेको छ । सांस्कृतिक र सामाजिक क्रियाकलाप हुने सहरका मध्यभागसम्म सवारीसाधनको सहज पहुँच छ । मानिसहरू मठमन्दिर जाँदा, स्वस्थ जीवनका लागि खेलकुदमा जाँदासमेत मोटरको प्रयोग गर्छन् । यसले प्राचीन स्मारक क्षेत्रको मौलिकपनमा खतरा बढाएको छ । धार्मिक, ऐतिहासिक, सांस्कृतिक, सामाजिक महत्वका स्थान, भित्री सहरी क्षेत्रलाई मानवकेन्द्रित क्रियाकलापमा अभ्यस्त बनाउनुपर्ने भन्दै महानगरपालिकाले यस्तो नियम अघि बढाएको महानगरपालिका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

उनका अनुसार हाँडीगाउँ गुरुयोजनाअन्तर्गत स्मारक क्षेत्रको वातावरणीय सुधार गर्न वल्र्ड कार फ्री डे २०२३ (५ असोज ०८०) का दिन सवारी निषेध कार्यक्रम सञ्चालन गरिँदै छ । एफएचआई ३६० स्वच्छ हावा परियोजनाका प्रमुख भूषण तुलाधरले, वायु प्रदूषण नियन्त्रणका लागि स्थानीय समुदायस्तरमै समाधानका उपाय भएको बताउँदै ती उपाय अवलम्बन गरेर जनस्वास्थ्य, वातावरण सुधार गर्न सकिने धारणा राखे ।

शनिबार आयोजित कार्यक्रममा रिच आर्किटेक्टका आर्कीटेक्टहरू पद्मसुन्दर महर्जन र सबिना तुलाधरले, कार्यपत्र प्रस्तुत गर्दै, यसको पुनरुत्थानका लागि अझै पनि काम गर्न सकिने र प्राचीन स्वरूपलाई फर्काउन सकिने धारणा राखेका थिए । अन्तक्र्रियामा सम्पदा पुनरुत्थान तथा वातावरणीय सुधारका लागि समुदायस्तरमा यसअघि भएका छलफलबाट आएका नतिजाका विषयमा दिगो विकास इन्स्टिच्युटबाट निहारिका माथेमाले प्रस्तुतीकरण गरेका थिए । 

लच्छिविकालीन सभ्यता झल्काउने हाँडीगाउँ
उपत्यकाभित्र लिच्छविकालीन नगर सभ्यताको केन्द्र मानिने हाँडीगाउँ स्वतन्त्र राज्य व्यवस्थाबाट सञ्चालित थियो । शिव शक्ति र भक्तिका स्थान, वास्तुकला, चित्रकला, मूर्तिकला, चैत्य, बिहारजस्ता सम्पदाको एकै ठाउँमा अवलोकन गर्न सकिने ठाउँ थियो । 

प्रा.डा. सुदर्शनराज तिवारीका अनुसार हाँडीगाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छविकालको संस्कृति र सम्पदाका लागि सर्वाधिक प्राचीन स्थानका रूपमा लिइन्छ । यहाँ भएको सत्यनारायणपरिसरमा प्राचीन बस्ती र पूर्वलिच्छविकालका मन्दिरहरू भएको प्रमाण पाइन्छ । आधुनिक विकासले हाँडीगाउँमा हराएको प्राचीनताको आभासलाई पुनरुत्थान गराउन महानगरले गुरुयोजना अघि सारेको हो ।

सुझावित समाचार