धरानमा एकता र सद्भाव कायम राख्न प्रधानमन्त्री, देउवा र लामिछानेको आग्रह

आइतबार, १० भदौ, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक एकतामा खलल पुग्ने कार्यबाट टाढा रही एकता तथा सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव–पहल लिन आग्रह गरेका छन् । शनिबार अपिल जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सबै धर्मको ध्येय राष्ट्रको हित, नागरिकको आस्था र विचारको सम्मान एवं समाजको सर्वोपरि हित हुने स्मरण गराएका छन् ।

‘विभिन्न वर्ण, लिंग, जातजाति र धर्मको पहिचान भए पनि समग्रमा हामी नेपाली हौँ । नेपालको राष्ट्रिय हित र स्वार्थ नै हामी सबैका लागि सर्वोपरि रहन्छ र रहनुपर्दछ । सबै धर्मको ध्येय राष्ट्रको हित, नागरिकको आस्था र विचारको सम्मान एवं समाजको सर्वोपरि हित नै हो । विमतिहरूलाई संवादको माध्यमबाट समाधानमा पुर्‍याउनसमेत राजनीतिक शक्तिहरू, विभिन्न सामाजिक संस्थाहरू, धार्मिक समुदाय र त्यसका अगुवाहरू एवं नागरिक समाजको भूमिका नै महत्वपूर्ण रहन्छ,’ प्रधानमन्त्रीको अपिलमा छ, ‘कठिनाइ र चुनौतीको समयमा समस्या समाधानको सूत्राधार बनेर नै हामीले आफ्नो नेतृत्व क्षमता र औचित्यलाई पुष्टि गर्न सक्छौँ । अन्त्यमा, सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव पहल लिनुहुन धरानवासी जनसमुदायलगायत सम्पूर्ण नेपालीमा हार्दिक अपिल गर्दछु ।’

प्रधानमन्त्री प्रचण्डले संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न सरकारले आवश्यक सतर्कता अपनाइरहेको पनि बताएका छन् । ‘धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावका माध्यमबाट नै राष्ट्र निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न सकिन्छ । एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेर मात्र साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिन्छ,’ उनको अपिलमा छ, ‘त्यसका लागि संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारले आवश्यक सतर्कता अपनाइरहेको व्यहोरासमेत म स्पष्ट गर्दछु ।’ 

प्रधानमन्त्रीले केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले हाम्रो सद्भाव एवं एकतामा पार्न सक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको जनाएका छन् । ‘हरेक समस्या, बिमति र चुनौतीलाई संवाद, सहमति, र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ,’ उनले अपिलमा भनेका छन्, ‘तसर्थ, धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपिल गर्दछु ।’

एकता, सद्भाव र सहकार्य भावनात्मक सम्बन्धका साथै सामाजिक प्रगति र विकासका निम्ति अपरिहार्य रहेको प्रधानमन्त्रीको भनाइ छ । ‘संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको छ । कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता, द्वैष बढाउने तथा एक–अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरिएको छ,’ उनले भनेका छन्, ‘यसका साथै हामी जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिसहरू भए पनि सामाजिक सम्बन्ध र सहकार्यविना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता प्राप्त गर्न सक्दैन । तसर्थ, हाम्रो एकता, सद्भाव र सहकार्य भावनात्मक सम्बन्धका साथै सामाजिक प्रगति र विकासका निम्ति अपरिहार्यसमेत रहिआएको छ ।’

त्यसैबीच सत्तारूढ कांग्रेसले धरान घटनामा संयमता अपनाउन आग्रह गरेको छ । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले अपिल जारी गर्दै घटनाबाट धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावमा खलल पुर्‍याउन सक्ने विषयप्रति चिन्ता प्रकट गरेका हुन् । 

कांग्रेसले सामाजिक, धार्मिक, राजनीतिक सद्भावका लागि सबैसँग आग्रह गरेको छ । कांग्रेसले नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्‍याई आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको स्मरण गराएको छ । नेपालीको भावना र चाहनाविपरीत धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि राष्ट्रको हितविपरीत हुने कांग्रेसले उल्लेख गरेको छ ।

‘यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य–अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुई मत छैन । यसले निम्त्याउन सक्ने परिस्थिति वेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो,’ सभापति देउवाले जारी गरेको विज्ञप्तिमा छ । कांग्रेसले राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्थालगायत सबैमा आपसी एकता र सद्भाव कायम राख्न भूमिका खेल आग्रह गरेको छ ।

See More On

सुझावित समाचार