प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ आज

सोमबार, ४ भदौ, २०८०
डिजिटल संस्करण

सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सोमबारदेखि सुरु हुने भएको छ । संसदीय सुनुवाइ समितिले बिहान ११ बजेदेखि श्रेष्ठको सुनुवाइ गर्ने समिति सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्की ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि १८ साउनमा बसेको संवैधानिक परिषद् बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो । 

२३ साउनमा श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेर आइतबार सांसदहरूलाई वितरण गरेको संसदीय समितिले सोमबार बिहान साढे १० बजे उजुरीकर्तासँग छलफल गर्ने र त्यसको एक घन्टापछि श्रेष्ठको सुनुवाइ गर्ने निर्णय गरेको हो । सचिव पाण्डेयका अनुसार श्रेष्ठविरुद्ध तीनवटा उजुरी परेकोमा एकजना मात्रै सम्पर्कमा छन् । दुईवटा उजुरी इमेलमा आएकोमा संवैधानिक परिषद्को सिफारिसमाथि कानुनी प्रश्न उठाउने खालका छन् ।

सम्पर्कमा रहेको व्यक्तिले श्रेष्ठको कामकारबाही र मुद्दाविशेषमा गरेको फैसलामा प्रश्न उठाउँदै उजुरी दिएका छन् । ती उजुरीकर्तासँग छलफल गरेर न्यायाधीश श्रेष्ठको कार्ययोजना सुन्ने, सांसदसँग सवालजवाफ हुनेछ । त्यसपछि समितिले अनुमोदन गर्ने वा नगर्ने निर्णय लिनेछ । समितिबाट अनुमोदन भएमा श्रेष्ठलाई राष्ट्रपतिले नेपालको नयाँ प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । 

सुझावित समाचार