दक्षिण ललितपुरका साढे सात हजार घरधुरीमा सामुदायिक विद्युतीकरण

आइतबार, ३ भदौ, २०८०
डिजिटल संस्करण

सामुदायिक विद्युतीकरणले दक्षिण ललितपुरको दैनिकी निकै सहज बनेको छ । यहाँका सात हजार पाँच सयभन्दा बढी घरधुरीमा सामुदायिक विद्युतीकरणले ल्याएको परिवर्तन देख्न सकिन्छ ।

गाउँघरमै उद्योग सञ्चालन भएका छन्, २४सै घन्टा निरन्तर विद्युत् उपलब्ध हुनुका साथै गाउँका कुना–कुनासम्म सहजै सञ्चार सम्पर्क हुन थालेको छ । करिब एक दशकअघिसम्म ललितपुरको दक्षिणी भेगका तत्कालीन १९ वटा गाउँ विकास समितिमा विद्युत् सेवा पुगेको थिएन ।

२ भदौ ०६१ देखि तत्कालीन देवीचौर गाउँ विकास समितिमा सहकारीमार्फत विद्युतीकरणको ग्राहक सेवा सुरु भएसँगै यो परिवर्तन सुरु भएको हो । देवीचौर अहिले गोदावरी नगरपालिका–७ भएको छ भने बाँकी बागमती, महाँकाल र कोन्ज्योसोम गाउँपालिकाको वडामा परिणत भएका छन् ।

शक्तिबहादुर बस्नेत, ऊर्जामन्त्री
सरकारले सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई साथ दिन्छ, संविधानले सार्वजनिक–निजी साझेदारीका साथै नागरिकको सहभागितामा गरिने विकासको अवधारणालाई प्रवद्र्धन गरेको छ । विद्युत् सहकारीले गरिरहेको कामलाई राज्यकै हिस्साका रूपमा बुझ्छौँ ।

‘ग्रामीण विद्युतीकरणलाई अभियानका रूपमा लैजान्छौँ’
दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडमार्फत विद्युतीकरणको १९औँ वर्ष पूरा भएको अवसरमा शनिबार आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जनतालाई विकास अभियानको साझेदार बनाउने पद्धतिलाई थप विस्तार गरिने बताए । सरकार सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई थप व्यवस्थित गर्न तयार रहेको उनको भनाइ छ ।

उनले भने, ‘विकासमा जनताको सहभागिता र अपनत्व, प्रतिफलमा साझेदारी सुनिश्चित हुनुपर्छ । हामीले यसलाई अझ बढी महत्व दिनुपर्छ ।’ मन्त्री बस्नेतले सामुदायिक विद्युतीकरणको महत्वपूर्ण भाग सहकारी भएको र यसले गरेको काम कदरयोग्य रहेको भन्दै सामुदायिक विद्युतीकरणको प्रशंसा गरे ।

बागमती प्रदेश सभा सदस्य मधुसूदन पौडेलले सामुदायिक विद्युतीकरणमा मन्त्री फेरिएपछि आइरहने समस्या समाधान हुनुपर्ने बताए । उनले नियमावलीमा समावेश गरेर नीतिगत रूपमै सहकारीमार्फत सञ्चालित सामुदायिक विद्युतीकरणलाई सहज हुने व्यवस्था राखिनुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले प्रत्येक नागरिकलाई खुसी बनाएर सेवा प्रदान गर्नेतर्फ ध्यान दिन आग्रह गरे । उनले सामुदायिक विद्युतीकरणमा जिल्ला विकासले गरेको जस्तै अहिले समन्वय समितिले पनि सहयोग, समन्वय र सहजीकरण गर्ने बताए । नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेले तत्कालीन समयमा स्थानीय जनप्रतिनिधि हुँदा दक्षिण ललितपुर विद्युत् सहकारी संस्था गठनका वेला संस्थापक उपाध्यक्ष भएर काम गरेको स्मरण गरे । 

कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले ललितपुरको सातदोबाटोमा भएको विकास र सेवालाई हेरेर दक्षिण ललितपुरलाई तुलना गर्न नहुने भन्दै सुविधासम्पन्न स्थानीय तह र प्राकृतिक प्रकोपले बर्सेनि समस्या थपिरहने पालिकालाई एउटै रूपमा हेरिन नहुने बताए । 

संस्थाका पूर्वअध्यक्ष रामकृष्ण हुमागाईंले १७ साउन ०५७ मा सहकारी स्थापना हुँदा द्वन्द्वको चरम अवस्था रहेको स्मरण गर्दै सरकार र समुदायको आधा–आधा लगानीमा विद्युतीकरणको काम सञ्चालन भएको बताए । संस्थाका अध्यक्ष गोविन्दप्रसाद बजगाईंले सामुदायिक विद्युतीकरणले सुधारिएको चुलो, बायो ग्यासको प्रवद्र्धनलगायतमा प्रभावकारी काम भएको बताए । 

सुझावित समाचार