युइएफएले सिजन २०२२/०२३ मा उत्कृष्ट प्रदर्शन गरेको आधारमा लिओनल मेसी, एर्लिङ हालान्ड र केभिन डी बु्रयनालाई अन्तिम तीन खेलाडीमा छनोट गरेको छ
अर्जेन्टिनी कप्तान लिओनल मेसी, एर्लिङ हालान्ड र केभिन डी बु्रयना ‘युइएफए प्लेअर अफ दी इअर’को मनोनयनमा परेका छन् । युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए)ले २०२२/०२३ सिजनमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा तीन खेलाडी सार्वजनिक गरेको हो । मेसी हालै अमेरिकी मेजर सकर लिग क्लब इन्टर मियामीमा आबद्ध भएका हुन् । उनले ६ खेलमा ९ गोल गरेका छन् ।
यसअघि उनी पेरिस सेन्ट जर्मेन (पिएसजी)मा थिए । उनले पिएसजीलाई फ्रेन्च लिग वानको उपाधि दिलाउन भूमिका निर्वाह गरेका थिए । गत सिजनमा म्यानचेस्टर सिटीले युरोपियन फुटबलमा ट्रेबल उपाधि जित्दा ब्रुयना र हाल्यान्डको प्रदर्शन उच्च कोटिको थियो । सिटीले युरोपियन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि जितेको थियो ।
इंग्लिस क्लबमा म्यानचेस्टर युनाइटेडपछि ट्रेबल उपाधि जित्ने सिटी दोस्रो क्लब हो । उत्कृष्ट तीन प्रशिक्षकमा सिटीका पेप ग्वार्डिओला, इन्टर मिलानका सिमोन इन्जाघी र नेपोलीका लुसिआनो स्पालेटी रहेका छन् । ब्राइटनका रोबर्ट डे जेब्री चौथो र आर्सनलका माइकल अर्टेटा पाँचौँ नम्बरको मनोनयनमा परेका छन् ।
युइएफएको प्राविधिक कमिटीले सिजनभर देश र क्लबका लागि गरेको प्रर्दशनलाई आधार मानेर सूची तयार पारेको जनाएको छ । च्याम्पियन्स लिग, युरोपा लिग, युरोपा कन्फेरेन्स लिग खेलेका क्लबका प्रशिक्षक, युइएफए सदस्य राष्ट्रका प्रशिक्षक र युरोपियन खेलकुद पत्रकार जुरीमा समावेश थिए ।
तीन खेलाडी र प्रशिक्षकबाट युइएफएले उत्कृष्ट एकलाई घोषणा गर्नेछ । युइएफएले ३१ अगस्टमा नयाँ सिजनको समूह घोषणा गर्नेछ । सोही कार्यक्रममा उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई पुरस्कृत गरिनेछ ।