खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षदेखि किसानले उत्पादन गरेको लोपोन्मुख खाद्यान्नलाई किनेर बजारीकरण गर्ने भएको छ । किसानले बजार नपाएर थोरै मात्र उत्पादन गरेको र समाजमा लोप हुँदै गएका विभिन्न खाद्यान्नलाई जगेर्ना गर्ने उद्देश्यले खरिद गरी आम उपभोक्तासमक्ष पुर्याउने नीति अघि सारेको हो ।
आइतबार कम्पनीले चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको अवसर पारेर चालू आर्थिक वर्षको नीति सार्वजनिक गर्दै कम्पनीका कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले किसानको रैथाने बालीलाई जोड दिई बजारीकरण गर्ने बताए । आगामी दिनमा आउन सक्ने खाद्यान्न संकटलाई केन्द्रित गरेर सरकार निजी क्षेत्र सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘दुर्गम ठाउँमा खाद्यान्न अभाव हुन दिन्नौँ, सडक सञ्जाल नभएको स्थानमा हवाईमार्फत पनि सेवा दिन्छाैँ र त्यसका लागि तयारी अवस्थामा छौँ ।’
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्रले समेत सेवा पुर्याउन नसकेको अवस्थामा खाद्य कम्पनीलाई आगामी दिनमा थप विकास र विस्तार गर्दै लैजान जोड दिनुपर्ने बताए । उनले भने, ‘आगामी दिनमा आइपर्ने खाद्य संकटलाई केन्द्रमा राखेर सचेत हुँदै कम्पनी, सरकारले खाद्य सम्प्रभुता र खाद्य सुरक्षाको प्रत्याभूतिमा जोड दिनुपर्छ ।’
कम्पनीले अघिल्लो आर्थिक वर्षमा दुर्गम र सुगम स्थानहरूमा ३० हजार चार सय ८२ मेट्रिकटन खाद्यान्न ढुवानी गरेको छ । कम्पनीसँग दैनिक कारोबार सञ्चालन गर्न खाद्य सुरक्षाका लागि आवश्यक मौज्दात राख्न १३ हजार चार सय ९४ मेट्रिकटन धान, १८ हजार ६० मेट्रिकटन चामल र सात मेट्रिकटन स्थानीय रैथाने बाली खरिद तथा भण्डारण गरेको छ । कम्पनीका अनुसार हाल धान, चामल र रैथाने गरी करिब १७ हजार मेट्रिकटन स्टक रहेको छ ।