मोबाइल चोरसँग प्रहरीको पेस्तोल भेटिएपछि...

सोमबार, २२ साउन, २०८०
डिजिटल संस्करण

 सर्वाेच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको सुरक्षामा खटिएका नेपाल प्रहरीका नायब निरीक्षक (सइ) प्रभाकर खड्काको पेस्तोल चोरी गर्ने दुईजना पक्राउ परेका छन् । सिन्धुलीका मेघबहादुर तामाङ र सिन्धुपाल्चोकका वासुदेव थामीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

 कागेश्वरी मनोहरा नगरपालिका– १ स्थित सइ खड्काको घरबाट गत ३१ असारमा पेस्तोल चोरी भएको थियो । सो पेस्तोल नारायणटार बस्ने तामाङको कोठाबाट बरामद भएको जिल्ला परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए । दुवैजना मोबाइल चोरीमा संलग्न व्यक्ति हुन् ।

सइ खड्काको घरको पहिलो तलाबाट थामीले अंकुशे लगाई झोला चोरी गरेका थिए । सोही झोलामा पेस्तोल पनि थियो ।थामीले अन्य स्थानीयको पनि मोबाइल चोरी गरेकाले त्यसउपर उजुरी परेको थियो । मोबाइल चोरीको अनुसन्धान गर्ने क्रममा उनीहरू पक्राउ परेको र पेस्तोल पनि बरामद भएको हो ।

पक्राउ परेकाबाट पाँचवटा मोबाइल पनि बरामद भएको र ती मोबाइल चोरीको हुन सक्ने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी ढुंगेलले बताए । सो घटनामा सइ खड्कालाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरी आन्तरिक छानबिन गरिरहेको छ ।

सुझावित समाचार