सिंहदरबारका १० उपसचिव र ७ शाखा अधिकृतको सरुवा

बुधबार, १७ साउन, २०८०
डिजिटल संस्करण

उपत्यकामा तीन वर्ष अवधि पुगेका कर्मचारीलाई बाहिर पठाउने योजना कार्यान्वयनमा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन वर्षभन्दा बढी अवधि काठमाडौं उपत्यकाभित्र रहेका कर्मचारीलाई बाहिर पठाउन सुरु गरेको छ । मन्त्रालयले पहिलो चरणमा करिब पाँच वर्ष अवधि पुगेका सिंहदरबारभित्रका १० उपसचिव र सात शाखा अधिकृतलाई बाहिर सरुवा गरेको हो । 

सरुवा गरिएका १७ मध्ये अधिकांशलाई स्थानीय तहमा पठाइएको छ । शक्ति र पहुँचका आधारमा कोही कर्मचारी वर्षौँसम्म सिंहदरबारमै रहने र कोही लामो समय दुर्गममै रहनुपर्ने प्रवृत्ति अन्त्य गर्न मन्त्रालयले सरुवा व्यवस्थापन थालेको हो । स्थानीय तहमा व्याप्त ‘निमित्त’को समस्या हल गर्ने उद्देश्यले पनि सरुवा व्यवस्थापन गरिरहेको मन्त्रालयले जनाएको छ ।

सरुवा व्यवस्थापन अब कार्यान्वयनमा गयो : कमानसिंह थापामगर प्रमुख, कर्मचारी प्रशासन शाखा
सरुवा व्यवस्थापन कार्यदलको सिफारिसका आधारमा मन्त्रालयले सरुवा व्यवस्थापनको काम अघि बढाएको छ । कार्यदलले सिफारिस गरेअनुसार नै तीन वर्षभन्दा बढी समय काठमाडौं बसेकालाई बाहिर सरुवा कार्यान्वयन सुरु भएको छ । यसरी नै अब मन्त्रालयले क्रमशः सरुवा व्यवस्थापन गर्दै जान्छ । यसबाट स्थानीय तहमा व्याप्त निमित्तको समस्या पनि समाधान हुँदै जाने मन्त्रालयको अपेक्षा छ । 

मन्त्रालयले गठन गरेको सरुवा व्यवस्थापन कार्यदलले निरन्तर तीन वर्ष वा सोभन्दा बढी अवधि काठमाडौं उपत्यकाभित्र कार्यरत कर्मचारीलाई कार्यावधिको ज्येष्ठताका आधारमा उपत्यकाबाहिर सरुवा गर्न सरकारलाई सिफारिस गरेको थियो । कार्यदलकै सिफारिसका आधारमा मन्त्रालयले सरुवा व्यवस्थापनको काम अघि बढाएको कार्यदलको सदस्यसमेत रहेका कर्मचारी प्रशासन शाखाका प्रमुख कमानसिंह थापामगरले बताए । ‘कार्यदलको सिफारिस कार्यान्वयन सुरु भएको छ,’ उनले भने, ‘यसबाट स्थानीय तहमा व्याप्त निमित्तको समस्या पनि समाधान हुँदै जाने मन्त्रालयको अपेक्षा छ ।’

कार्यदलको सिफारिस कार्यान्वयन गर्ने प्रयासस्वरूप मन्त्रालयले ७ साउनमा सूचना जारी गर्दै भौगोलिक क्षेत्रको अवधि पुगेका कर्मचारीलाई सरुवा गर्न निवेदन माग गरेको थियो । मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सरुवा भई आउन चाहेको सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिन आह्वान गरेको थियो । दुर्गम क्षेत्रमा अवधि पुगेकाको निवेदनका आधारमा उनीहरूलाई सुगम ल्याएर सुगमका कर्मचारीलाई दुर्गम पठाउने मन्त्रालयको तयारी छ । कर्मचारी सूचना प्रणाली (पिआइएस) अद्यावधिक गरी नौ दिनभित्र मन्त्रालयले तोकेको ढाँचाबमोजिम निवेदन दिन सूचनामा भनिएको छ । 

१० मध्ये आठ उपसचिवलाई स्थानीय तहमा पठाइयो
मन्त्रालयले सिंहदरबारमा कार्यरत आठ उपसचिवलाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ । हाल श्रम मन्त्रालयमा कार्यरत दीपक ढकाललाई रौतहटको बौधीमाई नगरपालिका, राष्ट्रिय योजना आयोगका शिवरञ्जन पौडेललाई सिराहाको मिर्चैया नगरपालिका र गृह मन्त्रालयका चोमेन्द्र न्यौपानेलाई बैतडीको मेलौली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ । त्यस्तै, स्वास्थ्य मन्त्रालयका सानुबाबु अधिकारीलाई सल्यानको शारदा नगरपालिका, उद्योग मन्त्रालयका श्रीधर गौतम डोटीको शिखर नगरपालिका, श्रम मन्त्रालयका कृष्णप्रसाद खनाललाई रौतहटको वृन्दावन नगरपालिका, श्रमकै खगेन्द्र सुवेदीलाई धनकुटाको पाख्रीवास नगरपालिका र भौतिक पूर्वाधारअन्तर्गत रहेका सोमराज बराललाई सर्लाहीको गोडैता नगरपालिकामा सरुवा गरिएको छ । 

बाँकी दुई उपसचिवमा ०७२ देखि सामान्य प्रशासनमा कार्यरत रेशमलाल कँडेललाई उद्योग मन्त्रालयअन्तर्गत तथा गृहअन्तर्गतका लक्ष्मण ढकाललाई श्रम मन्त्रालयअन्तर्गत खटाइएको छ । उनीहरूलाई पनि काठमाडौं बाहिरै पठाउने तयारी छ । 

त्यस्तै, काठमाडौंबाहिर भौगोलिक क्षेत्रको अवधि काटेका चार उपसचिवको पनि सरुवा गरिएको छ । जिल्ला समन्वय समिति भोजपुरमा कार्यरत भोलाप्रसाद चापागाईंलाई काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ल्याएर त्यहाँ कार्यरत शिवप्रसाद हुमागाईंलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा ल्याइएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत तिलोचन रिमाललाई झापाको अर्जुनधारा नगरपालिका ल्याएर त्यहाँबाट गीताकुमारी राईलाई सामान्य प्रशासनको अतिरिक्तमा ल्याइएको छ । 

सिंहदरबारका सात शाखा अधिकृतलाई पनि गाउँपालिकामा सरुवा 
सिंहदरबारबाट सात शाखा अधिकृतलाई पनि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ । गृह मन्त्रालयअन्तर्गत रहेका सुशीलकुमार भण्डारीलाई ताप्लेजुङको सिदिङ्वा गाउँपालिका, गृहअन्तर्गतकै पवनकुमार शाहीलाई प्युठानको झिमरुक गाउँपालिका तथा एकनारायण भण्डारीलाई सोलुखुम्बुको सोताङ गाउँपालिका पठाइएको छ । उनीहरू तीनपटकसम्म दोहो¥याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन गएका अधिकृतहरू हुन् ।

त्यस्तै, उद्योग मन्त्रालयअन्तर्गतका टोपलाल अर्याललाई सर्लाहीको ब्रह्मपुरी गाउँपालिका, उद्योग मन्त्रालयकै शीतलसिंह उखेडालाई डोटीको सायल गाउँपालिका, उद्योग मन्त्रालयअन्तर्गतकै हरिजंग चन्दलाई जाजरकोटको जुनीचाँदे गाउँपालिका र गृह मन्त्रालयअन्तर्गतका अर्जुनकुमार मण्डललाई सिराहाको औरही गाउँपालिकामा सरुवा गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनीका तुलसीराम पौडेलको प्युठानको गौमुखी गाउँपालिकामा सरुवा भएको छ । 
 

सुझावित समाचार