राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले संसद्लाई पर्याप्त बिजनेस दिन नसकेको बताएका छन्। चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले धेरै कानुन निर्माण गर्नुपर्ने संसद्ले पर्याप्त बिजनेस नपाएको गुनासो गरेका हुन्।
सभापति लामिछानेले भने, ‘भ्रष्टाचारका मामलामा सरकारले केही गर्न खोजेको हो कि जस्तो देखिएको छ। केही राम्रा संकेत पनि देखिएका छन्। तर, ती पर्याप्त छैनन्।’ सरकारको मूल्यांकन गर्ने धेरै आधार हुने उल्लेख गर्दै उनले सुशासनका लागि चाल्न खोजेका कदम सकारात्मक भएको बताए।
सुनकाण्डमा सरकारले चित्त बुझ्दो काम गर्न नसकेको उल्लेख गर्दै सभापति लामिछानेले भरिया समाउने र मालिक उम्काउने खेल हुन सक्ने भन्दै सबैलाई सचेत हुन आग्रह गरे। ‘गलत कुरालाई पार्टीभित्र प्रवेश गर्न दिँदैनौँ’, उनले भने। पार्टीमा धेरै थरीका व्यक्तिको प्रवेश भएको जिकिर गर्दै लामिछानेले गलत गर्ने जोकोहीलाई पनि कारबाही गरिने स्पष्ट पारे।